१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

झाँक्रीले उपचारको बहानामा अगुल्टो मुखमा झोस्दा र्‍यापर घाइते




नवलपरासी ।
नवलपरासी पूर्वको कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन् ।

सामाजिक सञ्जालमा उपचारको बहानामा झाँक्रीले अगुल्टो मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएको भिडिओ भाइरल भएको नौ दिनपछि घटना बाहिर आएको हो ।

काठमाडौँ बसेर विभिन्न प्रतियोगितामा भाग लिँदै गरेका र्‍यापर समेत रहेका कावासोती–१ का २० वर्षीय मिलनजङ्ग कुँवर बिरामी भएर घर आएका थिए ।

उपचारका लागि परिवारले नौ दिनअघि घरमा झारफुक गर्न देवचुली–१२ का ४२ वर्षीय झाँक्री दीपक सार्कीलाई बोलाएको थियो । सार्कीले झारफुक गर्ने क्रममा अगुल्टोले मुखमा पटक–पटक झोस्दा कुँवर गम्भीर घाइते भएका हुन् ।

घाइते कुँवरको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको परिवारले जनाएको छ । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि शुक्रबार झाँक्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९ शनिबार ००:००  ५ : १६ बजे