मायादेवी अनलाइन, चारनम्बर।
नेकपा (एमाले) अर्घाखाँची क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार टोप बहादुर रायमाझीले देशको राजनीति दुई धुर्वमा बांडिएको बताउनुभएको छ ।
एमाले केन्द्रिय सचिव समेत रहनुभएका प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार रायमाझीले देशको राजनीति अब एमाले र कांग्रेसमा मात्र सिमित रहने आफ्नो पहिलेको आंकलन सहि दिशा तर्र्फ गईरहेको बताउनुभएको हो ।
कपिलवस्तुको चारनम्बर जितपुरमा आयोजित अर्घाखाँची र कपिलवस्तुका कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा रायमाझीले सत्ता पक्षका पार्टीहरु मिलेर प्रतिपक्षमा रहेको पार्टी एमालेको विरुद्ध महागठबन्धन गर्नु लज्जास्पद र हारको मानसिकता रहेको जिकिर गर्नुभयो ।
आफुलाई कम्युनिष्ट पार्टी भन्न रुचाउनेहरु कांग्रेससंग गठबन्धन गर्नुकोे उद्देश्य एमालेलाई सत्तामा जान नदिने षडयन्त्र रहेको रायमाझीको दावि रहेको छ । कुनै लक्ष्य वा उद्देश्य विना गठबन्धन गर्नुको उद्देश्य सत्तामा जाने मात्र भएको र एमालेको लक्ष्य र उद्देश्य स्पष्ट भएकाले एमालेसंग एक्लै लड्ने सामथ्र्य रहेको उहाँले बताउनुभयो ।
देशमा सडक, खानेपानी, शिक्षा, कृषि, रोजगार, विद्युतीकरण, सामाजिक सुरक्षा र न्यायको क्षेत्रमा एमालेको योगदान जनताले राम्रोसंग बुझेको भन्दै गठबन्धनलाई एमाले एक्लैले परास्त गर्ने रायमाझीले बताउनुभयो । देशैभरका सबै पहाडी जिल्ला मध्ये सबैभन्दा विकासको पहुंचमा पुगेको जिल्ला अर्घाखाँची भएकोले यसमा एमाले र आफ्नो नेतृत्वदायी भुमिका रहेको सबैलाई जिल्लावासीले स्पष्टसंग बुझेको बताउनुभयो ।
जिल्लाका ६१ वटै वडाका हरेक टोलटोलमा बाटो पुगेको र बाँकी रहेका काम पुरा गर्नका लागि सुर्यध्वजावाहक उम्मेद्वारहरुलाई विजयी गराई एमालेको नेतृत्वमा सरकार बनाउनका लागि सहयोग गर्न आह्वान समेत गर्नुभयो ।
सोही क्रममा प्रदेश सभा सदस्यका उम्मेदवार रामजी प्रसाद घिमिरेले नेकपा एमाले राष्ट्रबादी पार्टी भएकाले आम मतदाताले एमालेलाई जिताउने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै कपिलवस्तु १ प्रदेश सभा सदस्यका उम्मेदवार विष्णु पन्थीले एमालेको लुम्बिनी प्रदेशको ३ वर्षे कार्यकाल सुशासन र समृद्धिको आधार भएको बताउनुभयो ।
प्रतिक्रिया