१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

विश्वका ५० भन्दा धेरै गरिब देशको अर्थतन्त्र नाजुक बन्दै



एजेन्सी ।

विश्वका ५० भन्दा धेरै गरिब देशको अर्थतन्त्र नाजुक बन्दै गएको संयुक्त राष्ट्र सङ्घका अधिकारीहरुले बताएका छन् ।

धनी देशहरूले तत्काल सहयोग नगरेमा विश्वका ५० भन्दा बढी गरिब देशको अर्थतन्त्र नाजुक बन्ने र उनीहरू टाट पल्टिने अवस्थामा रहेको संयुक्त राष्ट्र सङ्घका अधिकारीले चेतावनी दिएका बीबीसीले जर्नाएको छ ।

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रममा प्रमुख आकम स्टाइनरका अनुसार मुद्रास्फीति, ऊर्जा सङ्कट तथा बढ्दो ब्याजदरका कारण धेरै देश टाट पल्टिने अवस्थामा पुगेका हुन् । सम्भावित आर्थिक सङ्कटले गरिब देशका नागरिकहरूको जनजीवनमा गम्भीर प्रभाव पर्ने उहाँले बताउनुभयो ।

श्रीलङ्कामा देखिएको जस्तै अवस्थामा ती देशहरूमा पनि आउन सक्ने उहाँको भनाइ छ । जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा सम्बोधन गर्दै स्टाइनरले आर्थिक सङ्कटको अवस्था आएमा जलवायु सङ्कट समाधान पनि थप कठिन हुने बताउनुभएको हो ।

यसले जलवायु सङ्कट समाधानमा थप जटिलता निम्त्याउने उहाँको भनाइ थियो । इजिप्टमा अहिले जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको संयुक्त राष्ट्र सङ्घीय सम्मेलन चलिरहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९ शनिबार ००:००  १२ : ५३ बजे