१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

बलराम र विष्णुजि ओलीको विरोध गर्नुस, गठबन्धनको होइनः भट्टराई



मायादेवी अनलाइन, जितपुर ।

नेकपा एकिकृत (समाजवादी) कपिलवस्तुका सचिव कमल भट्टराईले गठबन्धनको विरोध नगरी केपी शर्मा ओली प्रवृत्तिको विरोध गर्न एमालेका नेताहरुलाई चुनौति दिएका छन् ।

कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ मा भएको घरदैलोको क्रममा वाणगंगा नगरपालिका वडा नम्बर ८ मा चुनावी सभालाई सम्बोधन गर्दै सचिव भट्टराईले ओली प्रवृत्तिका कारण मुलुकमा अस्थिरता सिर्जना भएको बताए ।

ओलीकै कारण नेकपाको दुई तिहाइको सरकार गुमेको, पार्टी बिभाजन भएको, संविधान मास्ने काम भएको, भ्रष्टाचारका ठुलाठुला काण्ड घटेको उनको आरोप छ ।

एमालेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बलराम अधिकारीको घर अगाडी चप्पर गाउँमा भएको सम्बोधनमा भट्टराईले भने ‘बलराम जि तपाई गठबन्धनको होइन होली प्रवृत्तिको विरोधमा उत्रनुस् र ओलीविरुद्ध अर्को विद्रोहको सुरुवात कपिलवस्तुबाट गर्नुस् । यो तपाईको मौका हो । विष्णु पन्थीलाई पनि मेरो आग्रह छ, तपाई राम्रो नेता हो, ओलीको दास भएर एमालेमा नबस्नुस् ।’

वाम लोकतान्त्रिक गठबन्धनका क्षेत्र नम्बर १ मा निर्वाचन परिचालन समितिका सह–संयोजक समेत रहेका भट्टराईले एमाले पार्टी राम्रो भए पनि ओली हुँदासम्म कहिल्यै राम्रो नहुने जिकिर गरे । आफू पनि हिजो एमालेकै कार्यकर्ता भएको बताउँदै ओली प्रवृत्ति गर्दा अलग भएर बनेको पार्टीमा लागेको उनको भनाई छ ।

कपिलवस्तुमा गठबन्धनको जित निश्चित भएकाले विकासको लागि गठबन्धनका उम्मेदवारलार्ई भोट खसाल्नुको विकल्प जनतामाझ नरहेको उनले बताए ।

उनले एमाले संविधान विरोधी पार्टी रहेको बताए । नेपाली जनताले फालिसकेको राजतन्त्र ब्युँताउने एजेण्डा बोकेको राप्रपासंग तालमेल गरेर हिँडेकाले एमाले पश्चगामी शक्ति भएको भट्टराईको ठम्याई छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९ शुक्रबार ००:००  ४ : ०२ बजे