काठमाडौं ।
अखिल (क्रान्तिकारी)ले स्नातक तहको परीक्षाफल एक साताभित्र सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयसँग माग गरेको छ ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई बिहीबार ज्ञापन पत्र बुझाउँदै अखिल क्रान्तिकारीका संयोजक पवन कार्कीले एक साताभित्र ९ वटा माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
स्नातक तह पहिलो वर्षको परीक्षा लिएको १६ महिना भइसक्दा पनि त्रिविले रिजल्ट गर्न सकेको छैन।
‘एक साताभित्र माग पूरा गर्न नसके विश्वविद्यालय र परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरू असक्षम भएको घोषणा गरी अखिल क्रान्तिकारी सशक्त आन्दोलनमा जान बाध्य हुनेछ,’ ज्ञापन पत्रमा भनिएको छ ।
परीक्षा भएको डेढ वर्षसमम्म पनि रिजल्ट नगरेर त्रिविले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको र त्रिविकै साख गिराएको आरोप पनि अखिल क्रान्तिकारीको छ ।
‘स्नातक तह पहिलो वर्षको १६ महिनाअघि लिएको परीक्षाको रिजल्ट अझै नभएको र उक्त परीक्षाको नतिजा हालसम्म नहुनुको कारण सत्यतथ्य सार्वजनिक गरी सात दिनभित्र रिज्ट प्रकाशित गर्नुपर्ने’ ज्ञापन पत्रमा उल्लेख छ ।
साथै स्नातक तेस्रो वर्ष र स्नातकोत्तर पहिलो सेमेस्टरको परीक्षाफल प्रकाशनमा ढिलाइ भइरहेको अखिल क्रान्तिकारीको भनाइ छ ।
बिए एलएलबीको रिजल्ट भएको तीन महिना भइसक्दा पनि ट्रान्सकृप्ट लिन नपाइएको गुनासो विद्यार्थीहरूको छ । परीक्षा नियन्त्रक जोशीले लिइएका परीक्षाका रिजल्ट सकेसम्म छिटो प्रकाशन गर्ने बताएका थिए ।
प्रतिक्रिया