१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

यी हुन् विश्वकप जित्ने राष्ट्रहरू



एजेन्सी ।
अहिलेसम्म विश्वकप फुटबलको उपाधि जम्मा आठ राष्ट्रले जितेका छन् । विश्वकपको इतिहासमा सबैभन्दा बढी ब्राजिलले पाँच पटक, जर्मनी र इटालीले समान ४-४ पटक विश्वकपको उपाधि उचालेका छन् । तर, चार पटक उपाधि जितेको इटाली भने यो पटक पनि विश्वकपमा छैन । इटाली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन नसकेको हो । यसअघि २०१८ को रसिया विश्वकपमा पनि इटाली छनोट हुन सकेको थिएन ।

यी हुन् विश्वकप जित्ने राष्ट्रहरू

ब्राजिल

ब्राजिल आफैँ फुटबलको बादशाहको रूपमा परिचित छ । अहिलेसम्म ब्राजिलले पाँच पटक विश्वकपको उपाधि जितेको छ । ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ गरी पाँच पटक विश्वकपको उपाधि उचालेको हो ।

सन् १९५० मा ब्राजिलले विश्वकप आयोजना गर्ने अवसर पाएको थियो । जुन विश्वकपमा उरुग्वेसँग २–१ ले पराजित हुँदै उपाधि रक्षा गर्ने अवसर गुमाएको थियो । विभिन्न समयमा ब्राजिललाई विश्वकपको उपाधि दिलाउन स्टार खेलाडीहरूले उत्कृष्ट योगदान दिएका थिए । विश्वकप १९५८ मा पेलेले ६ गोल गरे भने अर्का फरवार्ड भाभाले पाँच गोल गर्दै ब्राजिललाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

पहिलो पटक विश्वकपको उपाधि उचाल्दा आयोजक स्वीडेनलाई ५-२ गोलअन्तरले पराजित गरेको थियो । दोस्रो पटक विश्वकपको उपाधि सन् १९६२ मा ब्राजिलले जित्दा फाइनलमा चेकोस्लोभाकियालाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै, ब्राजिलले तेस्रो पटक विश्वकपको उपाधि ८ वर्षपछि सन् १९७० मा जितेको थियो । फाइनल खेलमा इटालीलाई ४-१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले तेस्रो पटक विश्वकपको उपाधि उचालेको थियो ।

त्यसपछि सन् १९९४ मा इटालीलाई पेनाल्टीमा ३-२ गोलअन्तरले पराजित गर्दै चौथो पटक विश्वकपको उपाधि जितेको थियो । सन् २००२ भएको विश्वकपमा भने ब्राजिलले जर्मनीलाई २-० गोलले पराजित गर्दै पाँचौँ पटक विश्वकपको उपाधि जितेको थियो ।

ब्राजिलले अहिलेसम्म सबै विश्वकप खेलेको छ । जसमा अहिलेसम्म ब्राजिल ११ पटक सेमिफाइनल पुगेको छ । पाँच पटक विश्वकप जित्दा २ पटक उपविजेता, दुई पटक तेस्रो र दुई पटक नै चौथो भएको छ । एक पटक क्वार्टर फाइनलबाट बाहिरिँदा ९ पटक भने विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

जर्मनी

जर्मनीले अहिलेसम्म चार पटक विश्वकपको उपाधि जितेको छ । जर्मनीले आफूलाई सधैँ बलियो टिमको रूपमा विश्वकपमा स्थापित गर्दै आएको छ । अहिलेसम्म जर्मनी आठ पटक फाइनलमा पुगेको छ भने चार पटक उपाधि जित्दा चार पटक उपविजेतामै चित्त बुझाएको छ । त्यस्तै, तेस्रो ३ र चौथो एक पटक भएको छ । सन् १९६६, १९८२, १९८६, २००२ मा जर्मनी उपविजेता बनेको थियो । सन् १९७०, २००६ र २०१० मा गरी तीन पटक तेस्रो भएको जर्मनी सन् १९५८ मा भने चौथो भएको थियो ।

अहिलेसम्मको विश्वकप फुटबलको इतिहासलाई हेर्ने हो भने पनि फाइनलमा सबैभन्दा बढी पुगेको देश हो जर्मनी । सन् १९३४ मा इटालीमा भएको दोस्रो विश्वकपदेखि जर्मनीले सहभागिता जनाउँदै आएको छ । यद्यपि दोस्रो विश्व युद्धको सिकार बनेको जर्मनीले सन् १९५० मा ब्राजिलमा भएको विश्वकप भने खेल्न पाएन । स्वीट्जरल्याण्डमा सन् १९५४ मा भएको विश्वकपको उपाधि जर्मनीले पहिलो पटक जितेको थियो । त्यसबेला फाइनलमा जर्मनीले हंगेरीलाई ३–२ गोल अन्तरले पराजित गर्दै इतिहास रचेको थियो ।

सन् १९७४ मा पहिलो पटक विश्वकप फुटबलको आयोजना गर्ने अवसर जर्मनीले पायो । जुन विश्वकपको फाइनलमा नेदरल्याण्ड्सलाई २–१ गोल अन्तरले पराजित गर्दै दोस्रो पटक जर्मनीले विश्वकप जितेको थियो । इटालीमा सन् १९९० मा भएको विश्वकपको पनि उपाधि जर्मनीले जितेको थियो । जर्मनीले सन् २०१४ मा अर्जेन्टिनालाई १-० गोलले पराजित गर्दै चौथो पटक विश्वकपको उपाधि चुमेको थियो ।

इटाली

इटाली फुटबलमा सफल राष्ट्र मानिन्छ । इटालीले विश्वकप फुटबलको उपाधि चार पटक जितेको छ । तर, २०१८ र २०२२ को विश्वकपमा लगातार दुई पटक इटालीले खेल्न असफल भयो । इटालीले सन् १९३४ को दोस्रो विश्वकप फुटबलको आयोजना गरेको थियो । दोस्रो विश्वकपको उपाधि पनि आयोजक राष्ट्र इटालीले नै जित्दै उसले विश्व फुटबल इतिहासमा आफ्नो इतिहास लेखाउन सफल भएको थियो । फाइनल खेलमा चेकोस्लोभाकियालाई थप गरिएको अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि उचालेको थियो ।

सन् १९३८ को तेस्रो संस्करणको विश्वकप फुटबल फ्रान्समा सम्पन्न भएको थियो । लगातार दोस्रो पटक इटालीले विश्वकपको उपाधि जितेको थियो । त्यतिबेला इटालीले फाइनलमा हंगेरीलाई ४–२ गोलअन्तरले पराजित गरेको थियो ।
इटालीले तेस्रो उपाधि स्पेनमा सम्पन्न सन् १९८२ को विश्वकपमा जितेको थियो ।

१२औँ संस्करणको विश्वकपको उपाधि इटालीले जितेको थियो । इटालीले सन् २००६ मा चौथो पटक विश्वकपको उपाधि उचालेको थियो । जुन ९ देखि जुलाई ९ तारिखसम्म जर्मनीले १८औँ विश्वकप फुटबलको आयोजना गरेको थियो । फाइनलमा पेनाल्टीमा फ्रान्सलाई ५–३ गोलअन्तरले पराजित गर्दै इटालीले चौथो पटक विश्वकप फुटबलको उपाधि जितेको थियो । निर्धारित समय र थप गरिएको समयसम्म दुवै टिमले १-१ गोलको बराबरी खेलेपछि पेनाल्टीबाट खेलको छिनोफानो गरिएको थियो ।

१८ पटक विश्वकप खेलेको इटाली अहिलेसम्म ६ पटक फाइनलमा प्रवेश गरेको छ भने त्यसमा ४ पटक विश्वकपको उपाधि उचाल्दा दुई पटक उपविजेता बनेको छ । सन् १९७० मा मेक्सिकोमा सम्पन्न विश्वकपको फाइनलमा ब्राजिलसँग ४-१ गोल अन्तरले पराजित भएको थियो । त्यस्तै, इटाली अमेरिकामा भएको सन् १९९४ को विश्वकपको फाइनलमा पुगेको थियो । तर, फाइनलमा इटालीका लागि उपाधि चुम्ने बाधक ब्राजिल बनेको थियो । पेनाल्टीमा इटाली ब्राजिलसँग ३-२ गोल अन्तरले स्तब्ध बनेको थियो ।

अर्जेन्टिना

अर्जेन्टिनाले सन् १९७८ र सन् १९८६ मा गरी दुई पटक विश्वकपको उपाधि जितेको छ । विश्वकपमा दुई पटक अर्जेन्टिनाले विश्वकप जित्दा तीन पटक उपविजेता बनेको छ । तीन पटक उपविजेता हुँदा दुई पटक फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको छ ।

त्यस्तै, एक पटक भने सन् १९३० मा भएको विश्वकपमा उरुग्वेसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको अर्जेन्टिनासँग तितो इतिहास छ । अर्जेन्टिनाले पहिलो पटक सन् १९७८ मा विश्वकपको आयोजना गर्ने अवसर पाएको थियो । यही विश्वकपको उपाधि अर्जेन्टिनाले जित्दै आफ्नो इतिहास बनाएको थियो । सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपको उपाधि जर्मनीलाई पराजित गर्दै अर्जेन्टिनाले दोस्रो पटक उचालेको थियो ।

उरुग्वे

विश्वकपको जन्मदाता उरुग्वेले अहिलेसम्म २ पटक विश्वकपको उपाधि उचालेको छ । सन् १९३० को पहिलो संस्करणको विश्वकप फुटबल आयोजना गरेको उरुग्वेले पहिलो ऐतिहासिक विश्वकपको ट्रफी उचाल्दै इतिहास बनाएको थियो ।

आफ्नै भूमिमा भएको पहिलो ऐतिहासिक विश्वकपको उपाधि उरुग्वेले अर्जेन्टिनालाई ४-२ गोलअन्तरले पराजित गर्दै जितेको थियो । समूह चरणको खेलमा उरुग्वेले पेरुलाई १-० र रोमानियालाई ४-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको थियो । सेमिफाइनलमा उरुग्वेले युगोस्लाभियालाई ६-१ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

दोस्रो विश्व युद्धपछि पुन १९५० मा ब्राजिलमा भएको विश्वकपको उपाधि दोस्रो पटक जित्दै उरुग्वेले इतिहास बनाएको थियो । आयोजक ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै उरुग्वेले विश्वकपको ट्रफी उचालेको थियो । त्यसपछि उरुग्वेले सन् १९५४, १९७० र २०१० मा उरुग्वे सेमिफाइनल पुग्दै चौथो भएको थियो ।

फ्रान्स

फ्रान्सले अहिलेसम्म दुई पटक विश्वकप फुटबलको उपाधि जितेको छ । सन् १९३० मा सुरु भएको पहिलो विश्वकपदेखि नै सहभागिता जनाउँदै आएको फ्रान्सका लागि अविस्मरणीय र ऐतिहासिक विश्वकप भने सन् १९९८ मा फ्रान्समै भएको विश्वकप हो । दोस्रो पटक फ्रान्सले २०१८ मा रसियामा भएको विश्वकप जित्न सफल भयो ।

फाइनलमा क्रोएसियालाई ४-२ ले हराउँदै फ्रान्सले २०१८ मा विश्वकप जितेको थियो । १९९८ मा पहिलो पटक विश्वकपको आयोजना गरेको फ्रान्सले आफ्नै भूमिमा विश्वकपको उपाधि जितेको थियो । त्यसबेला फ्रान्सले फाइनलमा ब्राजिललाई ३-० गोलअन्तरले पराजित गरेको थियो । सन् २००६ मा जर्मनीमा भएको विश्वकपको फाइनलमा फ्रान्स पुगेको थियो तर विश्वकपको उपाधि दोस्रो पटक उचाल्ने फ्रान्सको सपना इटालीले भताभुङ्ग बनाएको थियो । यो विश्वकपमा इटालीसँग फ्रान्स पेनाल्टी सुटआउटमा ५-३ ले पराजित भएको थियो ।

फ्रान्स सन् १९५८ र १९८६ मा दुई पटक विश्वकपको तेस्रो भएको छ । त्यस्तै, सन् १९८२ को विश्वकपमा पनि फ्रान्स सेमिफाइनल पुग्दै चौथो भएको थियो ।

इंग्ल्याण्ड

इंग्ल्याण्डले विश्वकपको उपाधि एक पटक मात्र जितेको छ । फुटबलमा घरेलु संरचना बलियो भए पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा इंग्ल्याण्डको उपस्थिति सशक्त हुँदै आएको छैन । ५६ वर्षअघि सन् १९६६ मा आफ्नै भूमिमा भएको विश्वकपको उपाधि इंग्ल्याण्डले जितेको थियो । त्यसपश्चात इंग्ल्याण्डले अहिलेसम्म फाइनल यात्रा तय गर्न सकेको छैन ।

फाइनलमा जर्मनीलाई ४-२ गोलअन्तरले पराजित गर्दै त्यो बेला इंग्ल्याण्डले विश्वकप जितेको थियो । त्यसयता एक पटक मात्रै सेमिफाइनलमा पुगेको छ । सन् १९९० मा भएको विश्वकपको सेमिफाइनलसम्म पुगे पनि इंग्ल्याण्ड जर्मनीसँग पराजित भएको थियो । इतिहासमा इंग्ल्याण्डले अहिलेसम्म १५ पटक विश्वकप खेलेको छ । सन् १९५०, १९५४, १९५८, १९६२, १९६६, १९७०, १९८२, १९८६, १९९०, १९९८, २००२, २००६, २०१०, २०१४ र २०१८ मा गरी १५ पटक विश्वकप खेलेको छ । एक पटक विजेता बन्दा एक पटक मात्रै चौथो बनेको छ ।

स्पेन

इटालीमा सम्पन्न भएको दोस्रो विश्वकप सन् १९३४ देखि सहभागिता जनाएको स्पेनले अहिलेसम्म एक पटक मात्रै विश्वकपको उपाधि जितेको छ ।

स्पेनले सन् २०१० मा भएको विश्वकप फुटबलको उपाधि जितेको थियो । फाइनलमा नेदरल्याण्ड्सलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेनले इतिहास रचेको थियो । यो खेलमा नायक बनेका थिए, फुटबलर आन्ड्रेस इनिष्टा । उनकै गोलमा स्पेनले उपाधि चुमेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७९ बुधबार ००:००  २ : ३९ बजे