बिष्णु कुमार आले, अर्घाखाँची ।
सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म सुविधासम्पन्न नेपाल–भारत मैत्री बस सेवा सञ्चालनमा आएको छ ।
सन्धिखर्कबाट नयाँ दिल्लीसम्म एसी बस सेवा सञ्चालन भएपछि रोजगारी तथा अन्य कामका लागि भारत जाने यात्रुलाई अब सजिलो हुने भएको छ ।
दिल्ली जाँदा कृष्णनगर गएर अन्य गाडी खोज्नुपर्ने झन्झट अन्त्य हुनुका साथै नगद तथा सामग्री जोगाउन नसकिने समस्याबाट मुक्त भएको र सुविधासम्पन्न एसी बसमा यात्रा गर्न पाउँदा आफूहरू खुसी भएको यात्रु खुमानन्द भुसालको भनाइ छ ।
‘सन्धिखर्कबाट बस चढेपछि बीच बाटोमा झर्न परेन । सामानहरू झार्न परेन । सिधै दिल्ली पुग्ने भएकाले यात्रुहरु सुरक्षित हुने भएका छन्,’ अर्का यात्रु भविश्वर बिकले भने ।
पश्चिम नेपाल बस व्यवसायी संघ बुटवल प्रालिले सञ्चालनमा ल्याएको उक्त बससेवा शुभारम्भ गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले यसबाट जिल्लादेखि दिल्लिसम्म पुग्ने यात्रुहरूका लागि सहज भएको बताए।
सिधा बस सञ्चालनले जिल्लाको पर्यटकीय क्षेत्रलाई पनि थप टेवा पुग्ने भन्दै श्रेष्ठले यात्रुहरु दिल्ली पुगिसके पछि बस्ने स्थानसम्म पुर्याउन सकेमा यात्रुहरु सुरक्षित साथ गन्तव्यमा पुग्ने बताए ।
सन्धिखर्कदेखि गोरुसिङ्गे, नेपालगञ्ज, लख्खिनपुर हुँदै दिल्लीसम्म बस पुग्नेछ । सन्धिखर्कबाट झन्डै नौ सय किलोमिटरको दूरीमा दिल्ली रहेको छ । बसमा ३६ सिट, दुई चालक, दुई परिचालक रहने र बसको भाडादर रू तीन हजार दुई सय पर्छ । तत्कालका लागि हप्ताको तीन दिन सञ्चालन हुने बस यात्रुको माग अनुसार थप्न सकिने उक्त प्रालिका अर्घाखाँची शाखा प्रमुख कमलप्रसाद भट्टराईले बताए।
सोमबार, बुधबार र शुक्रबार सन्धिखर्कबाट ११ बजे दिल्ली र बुधबार, शुक्रबार र आइतबार दिल्लीबाट ८ बजे सन्धिखर्कका लागि बस छुट्नेछ। सोमबार, बुधबार र शुक्रबार सन्धिखर्कबाट बिहान ११ बजे छुट्ने बस गोरुसिंङ्गे, नेपालगंज रुपडिया हुँदै नयाँ दिल्ली जाने र सोही दिननै नयाँ दिल्लीबाट बिहान ८ बजे सन्धिखर्कका लागि छुट्ने भट्टराईको भनाई छ । यात्रुहरुलाई गाडिभित्रै चिया, पानी र विस्कुटको समेत सुबिधा दिईएको भट्टराईले बताए ।
२०४८ सालमा पश्चिम नेपाल बस व्यवसायीको नामबाट निरन्तर सेवा दिदै आईरहेको संस्थाले २०५१ सालदेखि अर्घाखाँची काठमाण्डौ बस सेवा सञ्चालनमा ल्याएको थियो । बदलिदो समय र यात्रुहरुको माग संगै पछिल्लो समय काठमाडौंमा लक्जरियर्स एसी बस सञ्चालन गर्दै आएको प्रालिले बाटोको सहजतासंगै नेपाल भारत मैत्री बस सेवा सञ्चालनमा ल्याएको समितिले जनाएको छ ।
काठमाडौंमा एसी बस सञ्चालन गर्दै आएका यातायात व्यवसायीले मोटर बाटोको सहजतासँगै यातायात सेवा विस्तार गरेको प्रालिका रुट सल्लाहकार भानुभक्त भुसालले बताए।
यात्रुको सुबिधालाई मध्यनजर गरि सन्धिखर्क दिल्ली रूटमा थप बस संचालनमा ल्याउनु पर्ने सन्धिखर्क नगरपालिकाको उद्योग बाणिज्य संघका उपाध्यक्ष काजी श्रेष्ठले बताए । सुरूवाती चरणमा सर्वसाधारणले सेवा पाउँदा निकै सजिलो भएको भन्दै चाप र माग बढेको खण्डमा गाडि थप्नु पर्ने उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष सहयोगी बिसीले बताए । अहिले दिल्ली जान कुनै कठिन छैन । सन्धिखर्कबाट बस चढेपछि सिधै दिल्ली पुग्न सकिने बिसीले बताए ।
प्रतिक्रिया