मायादेवी अनलाइन, बाणगंगा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष पशुपति शमसेर राणाले सबै भन्दा पहिले मधेस र मधेसी जनताको आवाज उठाउने नेता आफू भएको दाबी गरेका छन् ।
जिल्लाको लबनीमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता राणाले विगतमा आफ्नो पार्टी सत्तामा हुँदा मधेसको जनता प्रति धेरै काम गरेको दाबी गरे ।
देशका ठूला दलले नेपाल बिगारेको भन्दै राप्रपा नै विकासको मुल प्रवाह भएको उनले तर्क गरे ।
०७४ सालको निर्वाचनमा नेपाली जनताले नेकपालाई दुई तिहाई मत दिएर बिजयी बनाए पनि त्यो मतको कदर नभएको बताए ।
आफ्नै पार्टी भित्र झगडा र पार्टी बिभाजनको कारण देश संकटमा परेको भन्दै अब मतदाता सचेत बनेर मत दिनुपर्नेमा जोड दिए ।
मुलुकको राजनीति अस्थिर भएको बताउँदै देशको निकासका लागि निर्वाचनमा सबै राष्ट्रवादी र प्रजातन्त्रबादी शक्ति एक भएर राप्रपा र यसका उमेदवार जिताएर देशको रक्षा गर्न उनले आग्रह गरे ।
चुनावी सभामा कपिलवस्तु प्रतिनिधिसभा १ का उम्मेदवार ध्रुव रायमाझीले यो पटक आफूलाई मतदान गरि जिताउन आग्रह गरे ।
आफूलाई अत्यधिक मत दिएर बिजय बनाए जिल्लाको बिकासमा परिवर्तन ल्याउने उनले उद्घोष गरे । आफूसंग काम गर्ने योजना रहेको पनि उनले सुनाए ।
कार्यक्रममा राप्रपाका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले मतदाता सचेत भएर यो निर्वाचनमा भोट दिनुपर्नेमा जोड दिए । गठबन्धन केवल सत्ताका लागि मात्र भएको उनले आरोप लगाए ।
सभामा क्षेत्र नं. १ को प्रदेश सभा ‘क’ का उम्मेदवार भोजराज आचार्य, प्रदेश सभा ‘ख’ का उम्मेदवार अदुल्ला मुसलमान, क्षेत्र नं. २ ‘ख’ का उम्मेदवार दुर्गा चौहान र क्षेत्र नं. ३ ‘क’ का उम्मेदवार कृष्ण प्रसाद पौडेल लगायतले बोल्दै यो पटक हलो चुनाव चिह्नमा मत दिन आग्रह गरेका थिए ।
प्रतिक्रिया