१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

कांग्रेसको घोषणा पत्रः सेवा सुरु भएको दुई वर्ष पछि आईसियु/एनआइसियु सेवाको उठान



कपिलवस्तु ।
मतदाता रिझाउनको लागि दलहरुले निकै आकर्षक योजना बनाउँछन् । भौतिक पूर्वाधार विकास, कृषि सिंचाई, स्वास्थ्यमा नविनतम संकल्प गर्ने गर्दछन् । तर कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको घोषणा पत्रमा सम्पन्न भएको काम गर्ने प्रतिवद्धता गरिएको छ ।

सत्ताधारी गठवन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले कपिलवस्तु अस्पतालमा सेवा संचालन भएको दुई बर्ष पुगे पछि आइसियु र एनआइसियु विस्तार गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुरेन्द्रराज आचार्य, प्रदेश सभा सदस्य पदका उम्मेदवार बिक्रम सिंह थापा र सुधाकर पाण्डेको प्रतिवद्धता पत्र सार्वजनिक भएको छ ।

मंगलबार नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा ३० बुँदे प्रतिवद्धता सार्वजनिक गरिएको छ । जसको बुँदा नम्बर ४ मा ‘कपिलवस्तु जिल्ला अस्पतालमा आईसियू बेड बिस्तार एवम् बच्चाहरुको लागि एनआईसियु कक्ष स्थापनामा सहयोग गर्ने’ उल्लेख गरिएको छ ।

अस्पतालमा २०७७ साल चैत्र २४ गते देखि सेवा संचालनमा आएको थियो । अस्पतालमा १० वेडको आईसियु मध्ये ५ वेडमा भेन्टीलेटर जडान गरिएको छ । ३ वेड एनआईसियु संचालनमा रहेको अस्पतालका मेसु किशोर बन्जाडेले बताए ।

उनले सो सेवा अस्पतालको लागि पर्याप्त भएकाले एमआरआई, सिटी स्क्यान जस्ता सेवा सञ्चालनमा जोड दिनु पर्ने बताए ।

अस्पतालको सेवा सञ्चालनका लागि संघिय सांसद बृजेश कुमार गुप्ताले सांसद विकास कोषबाट १ करोड ५० लाख रुपैया र प्रदेश सरकारबाट थप बजेट बिनियोजन गरे पछि अस्पतालमा सेवा संचालनमा आएको थियो ।

घोषणापत्रको १२ नम्बर बुँदामा समेत विवादास्पद योजना राखिएको छ । तिलौराकोट साझेदारी वनमा वन विहार (वनबाटिका बनाउने उल्लेख गरिए पनि वन ऐन नियमावली भन्दा बाहिर रहेको डिभिजन वन कार्यालय कपिलवस्तुका सूचना अधिकृत मदन मोहन स्यान्डिल्यले बताए ।

प्रतिवद्धता पत्र लेखन समितीका संयोजक रवि ठाकुरले अस्पतालमा वेडको संख्या थप गर्नका लागि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको बताए ।

यता साझेदारी वन क्षेत्रमा वनबाटिका निर्माणका लागि कानुन बाधक भएमा संसोधन गरी काम गर्ने दावी गरे ।

प्रकाशित मिति : २२ कार्तिक २०७९ मंगलबार ००:००  ७ : ३८ बजे