१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

अर्घाखाँचीलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिन्छ : रायमाझी



अर्घाखाँची ।

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले बसाई–सराई पहाडी जिल्लाको मुख्य समस्याका रुपमा रहेको बताउँदै समाधान उन्मुख कदम चाल्नुपर्ने बताए । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यका लागि अर्घाखाँचीबाट उम्मेद्वार रहेका उनले पहाडबाट बसाई सर्ने क्रम बढ्दो रहेको र यसले विकासमा अवरोध ल्याउने बताउँदै समाधानतर्फ योजनावद्ध कदम चाल्नुपर्ने बताए ।

चुनावी अभियानमा रहेका रायमाझीले सन्धिखर्कमा पत्रकारहरुसँग कुरा गर्दै अर्घाखाँचीलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिने बताए । उनले भने ‘ पहाड छोड्ने क्रम बढ्दो छ, अर्घाखाँचीबाट पनि बसाई सरेर तराई तथा अन्य शहरमा बसाई सर्ने क्रम छ । यो समस्या देशभरको हो । तर, अर्घाखाँचीमा हामीले न्यूनिकरण गर्दै रोक्नु पर्दछ।’

नेता रायमाझीले अर्घाखाँचीमा बसाई सर्ने रोक्ने मात्रै होइन, जिल्लामा अन्तबाट बसाई सरेर आउने अवस्था बनाउन सकिने समेत दावी गरे । उनले भने ‘पहाड छोड्नुका मुख्य कारण सडक पूर्वाधार,शिक्षा,स्वास्थ्य र रोजगारको उपलब्धता नहुनु हो । अर्घाखाँचीमा सडक पूर्वाधारमा हामी निरन्तर कार्यरत छौं,जिल्लाभित्र मात्रै होइन जिल्लालाई जोड्ने र अन्य जिल्ला आवत–जावत गर्ने सडक निर्माण भएका छन् , केही बन्दै छन्, केही योजनामा छन् । अब हाम्रो प्राथमिकता शिक्षा,स्वास्थ्य र स्वरोजगारका आधार तथा पूर्वाधार निर्माणमा हुने छ । राम्रो हावापानी, विभिन्न आकर्षण स्थल,सडक,शिक्षा,स्वास्थ्य,स्वरोजगार जस्ता सेवाहरुको उपलब्धता,सहजता र गुणस्तरीयताको पूर्ति भएपछि पहाड किन छोड्ने रु उल्टै यहाँ अन्तबाट आउने अवस्था बन्दछ ।’

प्रतिनिधिसभा सदस्य उम्मेद्वार रायमाझीले अर्घाखाँचीलाई दार्जिलिङ, सिक्किम जस्तै पर्यटन क्षेत्रका रुपमा विकास गर्न सकिने बताए । ‘पहाडी जिल्लामा विकास,समृद्धि हुँदैन वा असम्भव भन्ने छैन । दार्जीलिङ,सिक्किमलाई नै हेरौं न कति विकसित छन्, तपाइँ हामी त्यहाँ जान कति रुचाउँछन् । त्यसैगरी अर्घाखाँचीलाई पनि विकास गर्न सक्छौं । त्यो भिजन र योजना हामीसँग छ । आँफैमा विशेष र नमूना रहेको जिल्लालाई हामी विकसित,समृद्ध र अन्य स्थानबाट बसाई सरेर आउने नेपालको नमूना पहाडी जिल्ला बनाउन चाहान्छौं।’ उनले भने ।

प्रतिनिधिसभा सदस्य उम्मेद्वार रायमाझीले अर्घाखाँचीलाई दार्जिलिङ, सिक्किम जस्तै पर्यटन क्षेत्रका रुपमा विकास गर्न सकिने बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७९ मंगलबार ००:००  २ : २३ बजे