१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

चोकचोकमा मात्र आयो चुनाव, किन उठ्न सकेन माहोल ? (६ कारण)



चन्द्रकान्त न्यौपाने, जितपुर ।

देशभर अहिले चुनावी माहोल उठ्न सकेको छैन । प्रतिनिधि र प्रदेश सभाको निर्वाचन मिति (मंसिर ४) गते आउन अब १३ दिन मात्र बाँकी छ । मुख्य मुख्य शहर बजारबाहेक देशभर चुनावको रौनक देखिन्न । त्यो रौनक नदेखिएको जिल्ला कपिलवस्तु पनि हो ।

प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ निर्वाचन क्षेत्र भएको जिल्लामा चुनाव नजिकै आउँदा पनि माहोल उठ्न नसकेपछि नेताहरु चिन्तित छन् भने चोक-चोकमा पनि चुनावको माहोल बन्न सकेन भन्ने प्रकारको कुराकानी हुन थालेको छ । कार्तिक १७ गतेसम्म त निर्वाचन आचारसंहिताले एक प्रकारले बाँधेको हुनाले चुनावी माहोल देखिने कुरो भएन । तर १७ गते पछि १ हप्ता वितिसक्दासम्म पनि चुनावी रौनक नआउँदा दलका नेता र उम्मेदवार आश्चर्यमा छन् ।

आफ्नो गढ मानिएका स्थानमा पनि चुनावी प्रचार कार्यक्रममा सर्वसाधारण जम्मा हुन सकेका छैनन् । यसकारण अहिले एक प्रकारको नैरास्यताको बोध गरिरहेका बुझिन्छ नेताले । जहाँ जहाँ चुनावी प्रचार कार्यक्रम भएको छ त्यहाँ दलका उम्मेदवार र सक्रिय नेता कार्यकर्ता मात्रै देखिन्छन् । ३ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा सुस्त क्षेत्र नम्बर १ देखिएको छ । चोक-चोकमा कुरा गर्नेहरुले पनि यस्तो किन भयो भन्नेबारे समिक्षा गरिरहेका छन् । यस पछाडी बिभिन्न कारणहरु छन् ।

कारण नम्बर १ः किसानलाई खेतीपाती भित्र्याउन ठिक्क !

मंसिर महिना चुनावको लागि उपयुक्त वातावरण होइन । असार किसानको ‘मानो’ रोप्ने महिना हो भने मंसिर ‘मुरी’ भित्र्याउने महिना हो । किसानहरु पनि मंसिर महिना भएकाले चाहेर पनि आफ्नो दलको नेताको प्रचारमा हिँड्न नसकेको बताउँछन् । मंसिर महिना किसानको महिना हो । यसबेला कपिलवस्तु लगायतका देशभरका किसानलाई धान काट्न र स्याहार्न चटारो छ भने तोरी लगायतको बाली लगाउने अर्को चटारो छ । अधिकांश किसान कृषिमा निर्भर रहेका कारण पनि अहिले धान भित्र्याउन ब्यस्त छन् । नेता र उम्मेदवार घरदैलोमा पुग्दा अधिकांश किसानहरु खेतबारीमा रहेका देखिन्छन् । त्यसकारण पनि खुलेर मतदाता दलको कार्यक्रममा सहभागि छैनन् र चुनावको माहोल बन्न नसकेको धेरैको भनाई छ ।चुनावको लागि उपयुक्त महिना फागुन र वैशाख रहेको सरोकारवाला बताउँछन् ।

कारण नम्बर २ः जनता भन्छन्- हिँडेर के भयो र ?

यसपटकको चुनावमा सर्वसाधारणको सहभागिता नहुनुमा राजनीतिप्रति मतदाताको खिन्नता पनि हो । गणतन्त्र पछिका ३ वटा चुनावले जनतालाई केही दिन नसकेको हुँदा ७९ को चौथो चुनावमा नेतालाई किन भोट दिने र नेताको पछि लागेर किन हिँड्ने ? भन्ने जनभावना रहेको जानकारहरु बताउँछन् । आफ्नो स्वार्थको लागि लड्ने नेता, चुनावदेखि चुनावसम्मका नेता, जनताको लागि केही नगर्ने नेता, विकास नगर्ने नेताका कारण पनि यसपटकको चुनावमा नहिँडेको स्वयम् पार्टीका जिम्मेवार समर्थक बताउँछन् ।

जनतालाई नेता र दलले भोट बैंकको रुपमा मात्र प्रयोग गरेको र उनीहरुको स्थितिमा बदलाव नआएको कारण चुनावी कार्यक्रममा हिँड्न मन लागेको वाणगंगा नगरपालिका वडा नम्बर ४ का खिम प्रसाद शर्मा बताउँछन् । खिमप्रसादजस्तै अरु मतदाताको पनि यही भनाई छ । उनको प्रश्न छ मत प्रकट गर्न गइएला तर नेताको र्यालीमा किन हिँड्ने ?

सर्वसाधारण मात्र होइन दलका नेता नै यस कुरालाई स्विकार्छन् । कपिलवस्तु क्षेत्र नम्बर १ का प्रदेश सभा सदस्य पदका उम्मेदवारद्धय विष्णु पन्थी र डोलकराम घिमिरे पनि मुलुकको विकास नहुँदा जनतामा यस खालको नैरास्यता उत्पन्न भएको बताउँछन् ।

कारण नम्बर ३ः विचारविहिन दल

अहिलेको चुनावमा पार्टी समर्थक कार्यकर्ता नउत्रनुको पछाडी विचारविहिन दल पनि अर्को कारण हो । अहिले मुलुकमा दुई गठबन्धन छन् । एउटा गठबन्धन सत्तासिन काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोसपाको छ भने अर्को नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीको छ । केही साना घटक सिंगल चुनावमा छन् भने केही दल वहिष्कारको रणनीतिमा छन् ।

लामो समय एउटा पार्टी (काँग्रेस, एमाले, माओवादी लगायत) मा जीवन विताएका पाका र पुराना कार्यकर्ता भन्छन् ‘आफ्नो पार्टी मात्र चुनावमा होमिएको भए सायदै निस्कन्थ्यौँ तर पार्टी पार्टीजस्ता भएनन्, जसले जससंग गठबन्धन गरे पनि भयो । यो त निर्दलीय ब्यवस्था जस्तो भयो । विचारविहिन दल भए, कसको लागि भोट माग्ने ?’

अनावश्यक रुपमा गरिएका गठबन्ध्नको कारण पनि चुनावी मैदानमा उत्रनु पर्ने कार्यकर्ता उत्रिएका छैनन् । मुल पार्टीमा चुनावमा देखिएका गुट, उपगुटका कारण पनि अहिले कोही खुलेर आफ्नो दलको प्रचारमा हिँड्न आनाकानी गरेको पाइन्छ ।

कारण नम्बर ४ः निर्वाचन आचारसंहिताले बाँध्यो ?

यसअघिका चुनावलाई स्मरण गर्ने हो भने चुनाव आउनुभन्दा एक महिना अघिदेखि नै नेता, कार्यकर्ता र समर्थकको भीँड जम्मा भएर सहरबजार गुञ्जायमान हुन्थ्यो । चारैतिर ध्वजा पताका टाँसिएका हुन्थे । उम्मेदवारको पछिपछि हिँड्नेहरुमा आफ्नो पोशाक हुँदैनथ्यो, उनीहरु दलको चिन्ह र उम्मेदवारको भोट अपिल अंकित पोशाक पहिरिएर हिँडेका हुन्थे ।

सार्वजनिक स्थान, घर, भवन र पोलहरु पनि चुनावी सामाग्रीले रंगिएका हुन्थ्ये तर यसपटक भने ती सबै भएको छैन । मंसिर चारसम्म सार्वजनिक स्थान रंग्याउन र कुनै पनि उम्मेदवार र चुनाव चिन्ह अंकित पोशाक लगाउन निर्वाचन आयोगले कडाई गरेको छ भने आचारसंहिता उल्लंघन गर्नेमाथि गर्नेमाथि आयोगले कारबाही पनि गरिरहेको छ ।

यसैले पनि चुनावी माहोलमा कमि आएको जानकारहरु बताउँछन् । अर्कोतर्फ सरकारी कर्मचारी, राष्ट्रको सेवा सुविधा भोग गरिरहेकाहरु, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई पनि आचारसंहिताले बाँधेको छ । त्यसैले पनि हरेक वडा र स्थानीय तहमा चुनावी माहोल बन्न नसकेको बताइन्छ ।

कारण नम्बर ५ः चुनाव प्रचारको आधुनिक शैली

सूचना र प्रविधिको विकाससंगै अहिले सबैको हातहातमा मोबाइल छ । मानिसहरु सामाजिक संजालमा ब्यस्त छन् । हिजोको दिनमा जस्तो हरेक घरमा पुगेर भेट गर्नै पर्ने बाध्यता अहिलेका उम्मेदवारमा छैन ।

चुनाव अहिले लागेको छ भने सबैभ्न्दा बढी मोबाइल र सामाजिक संजालमा लागेको छ । उम्मेदवारका योग्यता, क्षमता, गुण, नराम्रा पक्ष, को कहाँबाट उठेको छ ? देशैभरको जानकारी मानिसले क्षणभरमा प्राप्त गरिरहेका छन् ।

उम्मेदवारहरु पनि मानिसको घरघरमा पुग्न भन्दा पनि यिनै आधुनिक प्लेटफर्म प्रयोग गरी प्रचार सामाग्री बनाइरहेका छन् । गाउँघरमा बाहेक शहर बजारमा त सामाजिक संजाल, मल्टिमिडियाबाटै चुनाव प्रचार गरिरहेको देखिन्छ । गाउँघरमा पनि यसको ठुलो प्रभाव रहेकाले गाउँदेखि सहर, बजारसम्म चुनावी प्रचारमा जनता सहभागि हुन नसकेको देखिन्छ । कपिलवस्तुमा पनि यही चुनावी माहोल बन्न नसकेको बताइन्छ ।

कपिलवस्तु मात्र होइन मुलुकभर नै अहिले चुनावको माहोल उठ्न सकेको छैन । कारणहहरु जे भए पनि मंसिर महिना र राजनीतिप्रति देखिएको वितृष्णा नै २०७९ सालको चुनावमा मतदाताको उत्साह घट्नुको कारण रहेको छ ।

कारण नम्बर ६ः स्थानीयले चिन्दैनन् ‘उम्मेदवार‘, अपनत्व र कर छैन हिँड्न

प्रदेश र संघको चुनाव स्थानीय चुनावभन्द्या फरक खालको छ । स्थानीय तहको चुनावमा आफ्नो नगर र वडाका मानिस चुनावमा होमिएका हुनाले कुनै न कुनै सम्बन्ध ती ब्यक्तिसंग सर्वसाधारणको गाँसिएको हुन्छ । त्यसैले पनि वडाको पहिचानको लागि स्वभावैले मानिस उम्मेदवारको पछि लाग्थे । तर संघ र प्रदेशका उम्मेदवारलाई भने स्थानीयले चिन्दैनन् ।

संघमा सामान्य पनि ३०/३५ वडा समावेश हुन्छन् भने प्रदेशमा १५/२० । त्यसैले अधिकांस मतदाता कुन पार्टीबाट को उठेको छ चिन्न सक्दैनन् भने उम्मेदवारसंग भोट खसाल्नेबाहेक अरु कुनै साइनो गाँसिएको देखिन्न । त्यसैले पनि आफ्नै पार्टीको उम्मेदवार भए पनि चुनावी कार्यक्रममा निस्कनै पर्ने बाध्यता सर्वसाधारणमा छैन ।

प्रकाशित मिति : २२ कार्तिक २०७९ मंगलबार ००:००  ९ : ४४ बजे