मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु शुद्धोधन गाउँपालिकाका पूर्व अध्यक्ष निसार अहमद खाँलाई जनता समाजवादी पार्टी नेपाल (जसपा) ले अनुशासनको कारबाही गर्ने भएको छ ।
आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनमा पार्टी हित विपरित कार्य गरेको भन्दै जसपा कपिलवस्तुले खाँलाई कारबाहीको लागि सिफारिस गर्ने तयारी गरेको हो ।
०७४ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र रुपमा गाउँपालिका अध्यक्ष जितेका खाँ त्यही बीचमा जसपामा प्रवेश गरेका थिए ।
गत ०७९ बैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा जसपाबाट पालिका अध्यक्षका उम्मेदवार बनेका उनी झिनो मतान्तरले पराजित हुन पुगेका थिए ।
जसपा भित्र दल अदलबदलको चक्र चलिरहेका बेला खाँ सत्तारुढ गठबन्धनको चुनावी प्रचार भेलामा उपस्थित भएका थिए ।
औपचारिक रुपमा कुनै पार्टी प्रवेशको घोषणा नगरेका उनी कांग्रेससहितको गठबन्धनको भेलामा उपस्थित भएपछि जसपा कपिलवस्तुले उनलाई अनुशासनको कारबाहीका लागि केन्द्रमा सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले बताए ।
‘पार्टीले स्थान दिएकै कारण खाँको लोकप्रियता चुलिएको हो । तर उहाँले अहिले बाटो विराउनुभएको छ । उहाँलाई अनुशासनको कारबाही गर्न केन्द्रमा नाम सिफारिस गर्न गइरहेका छौं,’ जिल्ला अध्यक्ष यादवले मायादेवी अनलाइनसंग भने ।
स्थानीय तहको चुनावमा खाँलाई टिकट दिएर गल्ती गरिएछ भन्ने लागेको पनि उनले बताए । चुनावको मुखैमा उनले पार्टीलाई धोका दिने काम गरेको उनको आरोप छ ।
यो बीचमा प्रदेश सभा सदस्य सहसराम यादव जसपा त्यागेर कांग्रेस प्रवेश गरेका छन्, भने मायादेवी गाउँपालिकाका पूर्व अध्यक्ष बजरंगी कुर्मी एमाले प्रवेश गरेका छन् । दुवै जना त्यस क्षेत्रका लोकप्रिय नेता हुन् । खाँ पनि कांग्रेस वा माओवादी मध्ये कुनै एकमा प्रवेश गर्ने तयारी गरेको स्रोत बताउँछ ।
कांग्रेस भित्र सहसरामको प्रवेशसंगै शुद्धोधन गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार रामनयन यादव जसपा प्रवेश गरेका छन् भने मायादेवी गाउँपालिकाका कांग्रेसका प्रभावशाली नेता मेवालाल यादव पनि जसपा प्रवेश गरी प्रदेश सभाको उम्मेदवार बनेका छन् ।
प्रतिक्रिया