मायादेवी अनलाइन, बाणगंगा ।
गत बैशाख ३० गते भएको स्थानीय तहको चुनावमा कांग्रेसबाट शुद्धोधन गाउँपालिकाको अध्यक्षका उम्मेदवार रहेका रामनयन यादव जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा कांग्रेसको सक्रिय राजनीति गरिरहेका यादव जसपा नेपालमा प्रवेश गरेका हुन् । उनी गत स्थानीय तहको निर्वाचनमा यो पालिकामा तेस्रो स्थानमा आएका थिए ।
यादवसंगै सयौं नेता जसपामा प्रवेश गरेको पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र यादवले जानकारी दिए ।
यस्तै कार्यक्रममा माओवादी नेता सुख्खु मुसलमानसहित दर्जनौं नेता कार्यकर्ता पनि जसपा प्रवेश गरेको अध्यक्ष यादवले बताए ।
नव प्रवेशीहरुलाई जसपा प्रदेश सदस्य सन्तोष पान्डेयले अबिर र टिका लगाएर प्रबेश गराएका थिए ।
आसन्न मंसिर ४ को प्रतिनिधि र प्रदेश सभा निर्वाचन नजिकिदै जादा दल अदलबदल गर्ने बढिरहेका छन् ।
यसभन्दा अगाडी मायादेवी गाउँपालिकाबाट कांग्रेसका प्रभावशाली नेता मेवालाल यादव जसपा प्रवेश गरिसकेका छन् । यादव आसन्न चुनावमा प्रदेश सभा ‘ख’बाट उम्मेदवार बनेका छन् ।
जसपाबाट कांग्रेसमा आएर प्रदेश सभामा चुनाव लडेका सहसराम यादव विरुद्ध कांग्रेसका नेताहरुले यहाँ विद्रोह गर्न थालेका छन् ।
जीवनभर कांग्रेसको राजनीति गरेपनि अवसर पाउने बेला आयतित व्यक्तिले अवसर पाएको भन्दै यसको विरुद्धमा नेताहरु लागेका छन् ।
प्रतिक्रिया