७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

आज गोवर्धन पूजा



मायादेवी अनलाइन, कपिलवस्तु ।
आज गोवर्धन पूजा । कार्तिक शुक्ल प्रतिपदाको दिन गोवर्धन तथा गोरुको पूजा गरिन्छ । गोरु पूजामा फूल, अबिर, केशरी, जौ, तिल, धूप, कपूर, चामलको पिठो आदि प्रयोग गरिन्छ । बाली लगाउने प्राणीका रूपमा गोरुको सम्मानमा यो पूजा गरिँदै आइएको छ ।

यही दिन हिन्दू धर्मावलम्बीहरूले आ–आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोवर्धन पर्वतको आकृति बनाएर पूजा गर्ने गर्छन् ।

पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । धार्मिक मान्यताअनुसार गोकुलमा कृष्ण बस्थे । त्यहाँ गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्थे । इन्द्रले आफ्ना भक्तहरूलाई केही दिँदैनथे । कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नुभन्दा खनिज, घाँस, पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो भनेपछि गोपालहरूले गोवर्धन पर्वतको पूजा गर्छन् ।

आफ्नो पूजा छोडेर गोवर्धन पर्वतको पूजा गरेको भन्दै रिसाएर इन्द्रले गोकुलमा असिना–पानीको वृष्टि गराउँछन् । त्यही समय कृष्ण भगवानले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरूलाई आश्रय दिन्छन् । त्यही बेलादेखि गोवर्धन पर्वतको पूजा गर्न सुरु गरिएको जनविश्वास रहिआएको छ ।

नेवार समुदायले यही दिन आफ्नो शरीरलाई पूजा गरी म्हःपुजा मनाउँछन् । आत्मा सन्तुष्ट भए देवता खुसी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासका साथ म्हः पूजा गरिँदै आएको छ । परिवारमा मुलीले परिवारका सबै सदस्यहरूको म्हः अर्थात् शरीरको पूजा गरी हाँस वा कुखुराको फुल सगुनको रूपमा अर्पण गरिन्छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९ बुधबार ००:००  ६ : ०७ बजे