मायादेवी अनलाइन, बाणगंगा ।
जति पटक चुनाव आउँछ त्यति पटक दल अदलबदल गर्दै जानकी प्रसाद यादव चुनाव लड्ने गरेका छन् ।
राजनीतिमा अस्थिर चरित्र भएका यादव आसन्न मंसिर ४ गते हुन गइरहेको कपिलवस्तु प्रतिनिधिसभा-३ को प्रदेश सभा ‘ख’ का उम्मेदवार हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उनी चुनावी मैदानमा होमिएका छन् ।
गत बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा यादव जनता समाजवादी पार्टीबाट विजयनगर गाउँपालिकाको अध्यक्षका प्रत्यासी थिए । झिनो मतान्तरले पराजित भएका उनी हालै राप्रपा प्रवेश गरी यहीँ पार्टीबाट चुनाव लड्ने गरी चुनावी मैदानमा रहेका छन् ।
गत बर्ष सम्पन्न नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा उनी कांग्रेसमा सक्रिय थिए । उनी विजयनगर गाउँपालिकामा चुनाव लडेर सभापति जितेका थिए । १ मतान्तरले सभापति जितेका उनी स्थानीय तहको चुनावमा टिकट नपाए पछि कांग्रेस परित्याग गर्न पुगेका थिए ।
यति मात्र होइन् ०७४ सालबाट उनी चुनाव लड्दै आएका छन् । ०७४ को स्थानीय तह चुनावमा नेपाली कांग्रेसले अन्तिम समयमा टिकट नदिए पछि विजयनगर गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र रुपमा उम्मेदवार बनेका उनी झिनो मतान्तरले पराजित भएका थिए ।
लगत्तै मंसिरमा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा कांग्रेसबाट टिकट पाएका उनले अन्तिम समयमा टिकट खोसेर विरेन्द्र कानौडियालाई दिइयो । त्यसैको झोकमा स्वतन्त्र उम्मेदवारी दिएका उनी तेस्रो स्थानमा आउँदै पराजित हुन पुगेका थिए ।
पटक पटक पार्टीले धोका दिएको कारण आफूले दल फेर्नु परेको उनी बताउँछन् । जनताको माया हुँदा हुँदै पार्टीबाट बेइमानी भएपछि चुनावमा फरक फरक दलबाट उठ्नु आफ्नो बाध्यता भएको उनले सुनाए ।
प्रतिक्रिया