काठमाडौं ।
आज तिहारको अर्को महत्वपूर्ण दिन अर्थात् गाईगोरु पूजा गरि मनाउने दिन । नेपाल लगायत विश्वभरि कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । भगवान श्री कृष्णसँग आजकै दिन ईन्द्रले आफ्नो क्रोधयूक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ ।
आजको दिन, श्री कृष्णले आफ्नो औंलाले उठाएको त्यही गोवर्द्धन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोवर्द्धन पर्वतको पूजाआजा गर्दा गाईवस्तुको गोबरलाई नै गोवर्धन पर्वतको प्रतिकका रुपमा पूज्ने चलन रहिआएको छ ।
गोवर्धनका साथ आज गोरुको पनि पूजा गरिन्छ र यसकासाथै आज कृषि औजारहरुको पनि पूजा गरिन्छ । आजको दिन हलगोरु अनि हलोको पूजा गर्ने गरिन्छ ।
गाईलाई हिन्दूधर्मावलम्बीहरु गौमाता तथा लक्ष्मीस्वरुपाका नामले पुकार्ने गर्दछन् । गाईको सेवा गरेमा सबै पाप नष्ट हुने बताइन्छ । गौमाताको सिङको तल्लो भागमा व्रह्मा र भगवान विष्णुको बास हुन्छ । साथै सिङको अग्र भागमा तीर्थ रहने विश्वास गरिन्छ । साथै बीचमा महादेवले बास गर्दछन् ।
गाईको निधारमा गौरी, नाकको अग्र भागमा भगवान कार्तिकेय, नाकको दुई प्वालमा कम्बल र अश्तर नाग बस्ने गर्दछन् ।
गाईको कानमा अश्विनी कुमार, आँखामा चन्द्रमा र सूर्यदेव, दाँतमा आठ वशुगण, जिब्रोमा वरुण, कण्ठमा माता सरस्वतीको वास हुने गर्दछ ।
सबै देवीदेवताहरु गौमाताको शरीरमा रहने भएकोले गाईलाई पूजा गर्ने गरिन्छ ।
सबै देवी देवताहरु र सबै तीर्थ व्रतादीहरु गाईको शरीरमा लिप्त रहने भएकोले गौमातालाई लक्ष्मीस्वरुप मानेर पूजा गर्ने गरिएको हो ।
प्रतिक्रिया