८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रदेश सभामा फैजल खान उम्मेदवार, दोहनीमा प्रचार कार्यालय उद्घाटन



मायादेवी अनलाइन, बाणगंगा ।
मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा युवा नेता फैजल खान प्रति जनलहर देखिन थालेको छ ।

नेकपा (एकीकृत समाजवादी) बाट कलम चुनाव चिह्नका उम्मेदवार खान प्रति जनलहर देखिन थालेको हो ।

प्रतिनिधि सभा-१ को प्रदेश सभा ‘ख’ बाट उनी चुनावी मैदानमा छन् ।

०७४ सालमा तत्कालिन बाम गठबन्धनबाट एमालेको तर्फ देखि यही क्षेत्रबाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका खान झिनो मतान्तरले पराजित भएका थिए ।

एमाले विभाजन पछि एकीकृत समाजवादीमा लागेका खान पूर्व राष्ट्रिय क्रिकेटर हुन् ।

युवा माझ लोकप्रिय खान प्रति यो निर्वाचनमा मतदाता आकर्षित देखिएका छन् । दोहनीमा भएको वडा स्तरको प्रचार-प्रसार कार्यालय उद्घाटनमा उल्लेख्य मतदाताको सहभागीताले यसको पुष्टि गरेको हो ।

शनिबार भएको कार्यक्रममा बोल्दै उम्मेदवार खानले आफ्नो उम्मेदवारी शिक्षा, स्वास्थ्य र विकासका लागि भएको उद्घोष गरे । आफू जनताको सेवा गर्ने मनसायका साथ राजनीतिमा होमिएको भन्दै यसपालि कलम चुनाव चिह्नमा मत दिएर जिताउन उनले अपील गरे ।

सबैको साथले मात्र आफ्नो जित सम्भव भएको भन्दै जात र धर्मको राजनीति गर्नेलाई यो निर्वाचनमा पराजित गर्नुपर्नेमा उनले जोड दिए । जात र धर्मबाट माथि उठे मात्र यस क्षेत्रको विकास सम्भव हुने भन्दै भावि सन्ततिको लागि पनि यो निर्वाचनमा आफ्नो जित आवश्यक रहेको सुनाए ।

कार्यक्रममा नेकपा (एस) का जिल्ला सचिव तथा युवा नेता कमल भट्टराईले अवसरवादको राजनीति गर्नेलाई यो निर्वाचनबाट सबक सिकाउनुपर्नेमा जोड दिनुभयो । सत्ता गठबन्धनबाट यो क्षेत्र आफ्नो पार्टीले पाउने लगभग पक्का भए पनि गठबन्धन दल भित्रै षडयन्त्रपूर्वक आयतित उम्मेदवार खडा गरिएको उहाँले बताउनुभयो ।

फैजल खानको जित विकास, शिक्षा र स्वास्थ्यको आमुल परिवर्तनका लागि भएको भन्दै आम मतदाताले बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो । यो निर्वाचनमा गठबन्धनले जित्नुपर्ने भन्दै कलम चिह्नमा मत दिन सबैमा उहाँले आह्वान गर्नुभयो ।

चुनाव प्रचार कार्यालय उद्घाटनमा बोल्दै एकीकृत समाजवादीका जिल्ला सचिव कमल भट्टराई ।

नेता सुकदेव तिवारीले अहिलेको निर्वाचनमा फैजल खान जिताउन सबैमा आग्रह गर्नुभयो । देशको राजनीति गलत ढंगले अगाडी बढेको भन्दै अब व्यक्तिलाई हेरेर मत जायर गर्नुपर्नेमा जोड दिनुभयो । यो क्षेत्रको विकासका लागि फैजल उपयुक्त उम्मेदवार रहेको बताउनुभयो ।

चुनाव प्रचार कार्यालय उद्घाटनमा बोल्दै एकीकृत समाजवादीका नेता सुकदेव तिवारी ।

एकीकृत समाजवादीले अब तत्कालै पकडी, लवनी र चाकडचौडामा सम्पर्क कार्यालय सन्चालन गरी चुनावी प्रचार प्रसार अभियानको शुभारम्भ गर्ने जनाएको छ । जिल्लामा एकीकृत समाजवादीले प्रतिनिधि सभा ३ को प्रदेश सभा ‘क’ मा जीवलाल पौडेललाई उम्मेदवार उठाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९ आइतबार ००:००  १२ : २६ बजे