मायादेवी अनलाइन, बाणगंगा । वाम लोकतान्त्रिक गठबन्धन कपिलवस्तुका चुनावी कमाण्डर अतहर कमाल मुसलमानले मुलुकको वर्तमान आवश्यकता अनुसार गठबन्धन गरिएको बताएका छन् ।
केपी ओलीजस्तो तानाशाहीबाट मुलुकलाई जोगाउनको लागि सारा कुरा छोडेर अहिले गठबन्धन गरिएको बताउँदै कमालले कपिलवस्तुमा पनि गठबन्धनले तोकेकै चिन्हमा मत खसाल्न नेता कार्यकर्तालाई आग्रह गरे ।
गठबन्धनको वाणगंगा ४ गजेहडामा प्रचार प्रसार तथा सम्पर्क कार्यालयको उद्घाटन गर्दै कमालले क्षेत्र नम्बर १ को प्रतिनिधि र प्रदेश सभामा कसरी मत राख्ने भन्दै उनले भने ‘यहाँ कुनै पार्टीका उम्मेदवार छैनन् । गठबन्धनका मात्र उम्मेदवार छन् । प्रतिनिध सभामा रुख चिन्ह छैन । गठबन्धनबाट गोलाकार भित्र हसिया हथौडा छ । यसमा वलदेव उठ्नु भएको छ । प्रदेशमा रुख चिन्हबाट डोलकराम घिमिरे उठ्नु भएको छ । अर्को मत पत्र हुन्छ समानुपातिकको त्यसमा सबै दलको आआफ्नै चिन्ह हुन्छ । त्यही अनुसार मत खसाल्नू । यहाँ दायाँबायाँ गर्ने छुट छैन ।’
उनले सम्पर्क कार्यालय खोलेपछि अब एक ढिक्का भएर अघि बढ्न आग्रह गरे । सबै एक भइसकेको भन्दै कपिलवस्तुमा सबै स्थानमा चुनाव जित्न गठबन्धनलाई समस्या नरहेको उनको दावी छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चक्रपाणी खनाल, प्रदेश सभा सदस्यका उम्मेदवार डोलकराम घिमिरे, गठबन्धनका अरु नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया