भैरहवा ।
गृहमन्त्री बालकृष्ण खाँणले अन्तर्राष्ट्रिय स्तरमा प्रत्यक्ष जोडिने पूर्वाधार तयार बनेको भैरहवा क्षेत्रमा एकीकृत विकास जरुरी रहेको बताएका छन् । उनले अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएको सिद्धार्थनगर (भैरहवा) लाई व्यवस्थित, विकसित र स्मार्ट बनाउनु पर्नेमा जोड दिएका थिए ।
पाँच दलीय गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका खाँणले भैरहवामा आयोजित कार्यक्रममा बोल्दै ‘स्मार्ट सिद्धार्थनगर’ को सुरुवात ‘सिद्धार्थ रिङरोड’ बनाएर गरिने बताए ।
‘नगरका सबै वडा, गाउँबस्तीलाई समेटेर सुरुमा रिङरोड निर्माणको काम अघि बढाइने छ’, उनले भने, ‘यसले सिद्धार्थनगरलाई विकसित सहरका रुपमा पहिचान बनाउने छ ।’ निर्वाचनपछि रिङरोड बनाउन डीपीआर बनाउने र त्यसपछि निर्माणको काम सुरु गर्ने उनले जनाए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), नेपालकै दोस्रो ठूलो भन्सार नाका जस्ता कारण पनि रिङरोड आवश्यक भएको र स्मार्ट सिद्धार्थनगर जरुरी रहेको खाणको भनाइ थियो ।
एकीकृत विकासको योजना अनुरुप रिङरोडले सहर र सहरभित्रैका बस्तीलाई जोड्दा स्थानीय उत्पादनको बजारीकरण, भित्री बस्तीको सहरीकरण हुने र यसले सहरलाई थप उचाइमा पुर्याउने उनले बताए ।
भैरहवा आर्थिक मात्रै नभएर पर्यटनको पनि प्रशस्त सम्भावना बोकेको स्थल भएको उनले बताए । गौतमबुद्ध विमानस्थललाई पूर्ण क्षमतामा चलाउन सरकारले पहल जारी राखेको पनि उनले बताए ।
प्रतिक्रिया