बुटवल ।
पूर्वअर्थमन्त्री विष्णु पौडेलले देशमा दिगो विकास र समृद्धि एमालेबाट मात्रै सम्भव हुने दाबी गरेका छन् । एमाले नेतृत्वको सरकारले ल्याएका सडक, पूर्वाधार निर्माण, सिञ्चाइ, शिक्षा, स्वास्थ्य, रोजगारी र मानवीय विकासका कार्यक्रम त्यसको प्रमाण भएको उनले दाबी गरे ।
‘देशको भौतिक विकास एवं तपाइँ हाम्रो सामाजिक र मानवीय विकास गर्ने पार्टी एमाले हो,’ नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संठगन क्षेत्र २ रुपन्देहीको भेलालाई बुधबार सम्बोधन गर्दै पूर्वअर्थमन्त्री पौडेलले भने, बालबालिकालाई निस्शुल्क गुणस्तरीय शिक्षा, युवालाई रोजगारी, ज्येष्ठ नागरिकलाई सुरक्षा भत्ता सुरु गर्ने एमाले हो ।’
एमाले उपाध्यक्ष एवं रुपन्देही २ का उम्मेदवारसमेत रहेका नेता पौडेलले विकासका मुद्दामा कसैले राजनीति गर्न र विमति राख्न नहुने बताए । ‘राजनीतिक परिवर्तन भयो । अब जनताले विकास चाहेका छन् । देशको विकास र समृद्धि चाहेका छन्,’ उनले भने, ‘एमालेबाट मात्रै यो सम्भव छ ।’
प्रतिक्रिया