८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

काँग्रेसको स्वाभिमान र मत संरक्षणका लागि उम्मेदवारी : ललित गुरुङ



कपिलवस्तु ।
कपिलवस्तु क्षेत्र नं १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार ललित गुरुङले गठनबन्धन देउवा र प्रचण्डको हितमा मात्र रहेकोले जनताको हितको लागि आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको बताउनुभएको छ ।

उहाँले पत्रकार भेटघाटमा बोल्दै कांग्रेसको स्वाभिमान र अस्तित्व रक्षाका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।

दशकौ देखि पार्टीको त्यागी र इमान्दार कार्यकर्ता भएर काम गर्दा पार्टीले कुनै अवसर नदिएको बताउँदै गठबन्धनका नाममा कति वर्ष अरुलाई बोक्ने उहाँले प्रश्न गर्नुभयो ।

आफूले स्वतन्त्र उम्मेदवारी दिएपछि यति बेला गठबन्धन गर्नेहरु अत्तालिएको भन्दै मैले जितेर देखाउछु पर्खेर हेर्नुहोस भन्ने सन्देश दिन चाहन्छु, उहाँले भन्नुभयो ।

नेपाली काँग्रेसका जिल्ला कार्य समिति सदस्य तथा पूर्व क्षेत्रिय सभापति समेत भइसकेको गुरुङले काँग्रेसका ३० हजार मत संरक्षणका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएको बताउनुभयो । कांग्रेसका मत र अन्य शुभेच्छुक मतदाताको भोटले चुनाव जित्ने दावी उहाँको छ ।

‘म माओवादीलाई कुनै दोष दिन्न । कमजोरी कांग्रेसकै हो । किन भने जनाधार नै नभएको पार्टीलाई गठबन्धनका नाममा क्षेत्र छाड्न हुँदैनथ्यो,’ उहाँले भन्नुभयो ।

‘कांग्रेस हिजो कहाँ थियो र आज कहाँ छ नेतृत्वलाई सोच्न आग्रह छ । आफ्नै ताकतमा हिड्ने कांग्रेसको प्रतिनिधित्व सुनिश्चत गर्न म उम्मेदवार भएको छु, उहाँले थप्नुभयो ‘नलका चिन्हमा मत दिएर कांग्रेस बचाउन म सबै कार्यकर्तालाई अपिल गर्छु ।’

जनताका आधारभूत आवश्यकता पनि परिपूर्ति गर्न नसकेको भन्दै पहुँच नभएका जनताहरु अझै पनि नागरिकताका लागि १५ दिन धाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । आफूले स्वतन्त्र रुपमा चुनाव जितेपछि देखिन लायक सु्धार ल्याउने उहाँको दाबी छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९ बुधबार ००:००  ९ : ५६ बजे