मायादेवी अनलाइन, बाणगंगा ।
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुले जिल्लामा उम्मेदवार उठाएको छ । गठबन्धनबाट धोका भएको भन्दै एकीकृत समाजवादीले प्रतिनिधिसभा १ को ‘ख’ र प्रतिनिधिसभा ३ को ‘क’ बाट उम्मेदवार उठाएको हो ।
गठबन्धनमा समाजवादीले यी दुई क्षेत्रसंगै प्रतिनिधिसभा ३ को ‘ख’ मा समेत दाबी गर्दै आएको थियो । अन्ततः गठबन्धनबाट धोका भएपछि समाजवादीले जिल्लामा दुई प्रदेश सभामा उम्मेदवार उठाएको उक्त पार्टीका केन्द्रीय सदस्य क्षेत्र बहादुर खत्रीले बताए।
१ को ‘ख’ मा समाजवादीले फैजल खानलाई उम्मेदवार बनाएको छ । आइतबार दिउँसो दलबलसहित खानले गजेहडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् । उनी पूर्व राष्ट्रियस्तरका क्रिकेटर समेत हुन् ।
यता ३ को ‘क’ मा जीवलाल पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । पौडेललाई पनि समाजवादीको समर्थन छ । उनी पार्टीका लुम्बिनी प्रदेश सदस्य छन् ।
पार्टीका केन्द्रीय सदस्य क्षेत्रीले आफूहरु गठबन्धनबाटै चुनावमा होमिने तयारी गरेको भएपनि गठबन्धनका केही दलले अपमान गरेको कारण उम्मेदवारी दिन बाध्य भएको बताए । जिल्लाका तीन प्रदेश निर्वाचन क्षेत्रमा आफूहरुको दाबी रहेपनि कुनै पनि दिन नचाहे पछि उम्मेदवारी खडा गर्नुपरेको उनले बताए ।
केन्द्रबाट १ को ‘ख’ मा आफूहरुले पाउने पक्का भएपनि त्यहाँ छल गरिएको उनले आरोप लगाए । अब पार्टी चुनावी अभियानमा होमिएको भन्दै शत प्रतिशत नतिजा आफ्नो पक्षमा पार्ने गरी प्रचार प्रसारमा लाग्ने उनले बताएका छन् ।
प्रतिक्रिया