८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

निर्वाचन आचारसंहिता कडाई पूर्वक पालना गर्ने दलहरुको सामूहिक प्रतिवद्धता



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु प्रतिनिधिसभा-१ का राजनीतिक दलहरुले निर्वाचन आचार संहिताको कडाई पूर्वक पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।

उम्मेदवारी दर्ताको पूर्व सन्ध्यामा क्षेत्रिय निर्वाचन कार्यालयले गजेहडामा राखेको निर्वाचन सम्बन्धि आचारसंहिताबारे जानकारी दिने अन्तरक्रिया कार्यक्रममा सहभागी राजनीतिक दलहरुका प्रतिनिधिले आचारसंहिताको पालना गर्न आ–आफ्ना पार्टीलाई दबाब दिने र निर्वाचन कार्यालयले पनि यसको कडाई पूर्वक पालना गर्नुपर्नेमा जोड दिएका हुन् ।

आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आइतबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा प्रतिनिधिसभा–१ को लागि गजेहडामा निर्वाचन कार्यालय स्थापना भएको छ ।

निर्वाचन आचारसंहिताबारे कार्यालयबाट शान्तराज आचार्यले सहजिकरण गरेका थिए । आचार्यले निर्वाचन आयोगले तोकेका ऐन, कानुनका बारेमा अवगत गराउँदै शान्त, मर्यादित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सबैको जिम्मेवारी रहेको बताएका थिए ।

कार्यक्रममा निर्वाचन अधिकृत शिवप्रसाद पराजुलीले राजनीतिक दल, यस क्षेत्रका सरोकारवाला पक्ष सबैलाई आसन्न निर्वाचन सफलता पूर्वक सम्पन्न गर्ने जिम्मेवारी रहेको बताए ।

सबै पक्षको सहकार्यले मात्र निर्वाचन सफल हुने भन्दै सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न उनले आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायत दलका प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति : २२ आश्विन २०७९ शनिबार ००:००  ५ : १३ बजे