८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नेत्र गिरीद्धारा कपिलवस्तु-१ बाट स्वतन्त्र उम्मेद्‍वारी घोषणा



मायादेवी अनलाइन, बाणगंगा ।
पूर्व एमाले नेता नेत्र गिरीले आसन्न मंसिर ४ को निर्वाचनमा स्वतन्त्र उम्मेद्‍वारी घोषणा गरेका छन् ।

कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ७ का गिरीले प्रतिनिधिसभा-१ बाट स्वतन्त्र उम्मेद्‍वारी घोषणा गरेका हुन् ।

यस क्षेत्रबाट एमालेले बलराम अधिकारीलाई उम्मेद्वार बनाएको छ ।

गत बैशाख ३० को स्थानीय तह निर्वाचनमा वडा नं. ७ को वडाध्यक्षमा चुनाव लडेका गिरी त्यस यता विभिन्न सामाजिक काममा सक्रिय हुँदै आए पनि कुनै दलमा आवद्ध भएका थिएनन् ।

जीवनका लामो समय एमालेको राजनीतिमा समर्पित गिरी पार्टीबाट विद्रोह गर्दै वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार बनेका थिए । त्यस लगत्तै पार्टीले उनलाई साधारण सदस्य नरहने गरी निष्काशन गरेको थियो ।

०४३ सालमै जनपक्षिय उम्मेद्वार बनेका गिरी एमाले कपिलवस्तुकै लोकप्रिय नेतामा पर्थे । ०५९ र ०५४ सालको साविक मोतिपुर गाविस (हालको वडा नं. ७ र ८) को गाविस अध्यक्ष भएर जनताको सेवा गरेका नेत्र यस क्षेत्रका लोकप्रिय नेता हुन् ।

भूमिगतकाल देखि नै राजनीतिमा सक्रिय नेत्रले कुनै पेशा र व्यवसाय गरेनन् । जीवनले बुढ्यौलीको रुपमा लगि सकेका नेत्रको सिंगो जीवन एमालेको राजनीतिमा वित्यो ।

अन्ततः उनी एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका हुन् । एमालेमा विचार स्खलित भएर धनवाद बढेको भन्दै यसको विरोधमा आफू लागेको उनले बताए ।

प्रकाशित मिति : २२ आश्विन २०७९ शनिबार ००:००  ४ : ०९ बजे