मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एमाले) ले बाबुराम खनाल माथि अन्याय गरेको छ । आसन्न मंसिर ४ को निर्वाचनमा प्रदेशसभा तर्फ उठ्ने आकांक्षा राखेका खनालमाथि एमालेले टिकट नदिएर अन्याय गरेको हो ।
खनाल एमाले कपिलवस्तुका संस्थापक नेता हुन् । नेपाल विद्युत प्राधिकरणको सरकारी जागीर छाडेर एमालेको राजनीतिमा आएका उनी सदरमुकाम तौलिहवाबासी हुन् ।
एमालेलाई जिल्लाको दक्षिणी भेगमा मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेका खनाललाई अन्ततः एमालेले अन्यायपूर्ण व्यवहार देखाएको छ ।
एमाले कपिलवस्तुको सचिव, उपाध्यक्ष हुँदै काम गर्दै आएका उनी आसन्न निर्वाचनमा प्रतिनिधिसभा-२ को प्रदेशसभा ‘ख’मा उम्मेद्वार हुन चाहन्थे । सिनियर नेता भएको कारण आफूले टिकट पाउनेमा उनी ढुक्क थिए । तर उनले यो क्षेत्रमा टिकट पाएनन् ।
एमालेले यो क्षेत्रमा धर्मबहादुरलाल श्रीवास्तवलाई प्रदेशसभामा उठाउने भएको छ । श्रीवास्तव ०७४ सालमा स्वतन्त्र समूहको नेतृत्व गर्दै एमालेको सूर्य चिह्न लिएर चुनाव लडेर जितेका थिए ।
हालै प्रवेश गरेका एमाले नेता बृजेश कुमार गुप्ताका खास व्यक्ति श्रीवास्तवलाई एमालेले टिकट दिँदा खनाल अन्यायमा परेका हुन् ।
श्रीवास्तव मधेस आन्दोलनताका एमालेलाई गाली गर्ने नेतामा एक नम्बरमा गनिन्थे । मधेसी दलमा छदा उनले एमाले प्रति गाली गर्दा खनाल एमाले बचाउन ज्यानको बाजी थापेर मैदानमा खटिन्थे । बृजेशको दबदबाका बीच एमालेलाई त्यस क्षेत्रमा बचाएका खनाल टिकट नपाउने स्थितिमा पुगेका छन् ।
खनाल ०६४, ०७० का दुवै संविधानसभाको निर्वाचनमा एमाले क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका थिए । मधेसवादी दलको दबदबा रहेको त्यो स्थितिमा उनी एमाले बचाउन भन्दै सतिसाल बनेर खडा भएका थिए । तर अहिले मधेसवादी दल कमजोर भएर ती दलका नेता एमालेमा भित्त्रिए पछि खनाल पछि परेका हुन् ।
प्रतिक्रिया