७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

एमालेबाट घनश्याम भुसालले टिकट पाएनन्, राप्रपा बन्यो प्यारो



काठमाडौं ।
एमालेले रुपन्देही ३ मा स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई टिकट नदिएर राप्रपाका नेता दीपक बोहोरालाई सघाउने भएको छ ।

शुक्रबार एमाले र राप्रपाबीच चुनावी तालमेलबारे भएको छलफलमा रुपन्देही ३ मा राप्रपाका बोहोरालाई सघाउने मोटामोटी सहमति भएको एमाले स्रोतले बतायो ।

राप्रपाले १० निर्वाचन क्षेत्र मागेको छ भने एमालेले सात क्षेत्र मात्र दिन चाहेपछि सहमति हुन सकेको छैन । तर, ८० प्रतिशतभन्दा धेरै सहमति भइसकेको वार्तामा बसेका राप्रपाका नेताहरूले बताएका छन् ।

भुसाल २०७४ को निर्वाचनमा रुपन्देही ३ बाट निर्वाचित भएका थिए । उनी पुरानो क्षेत्र रुपन्देही १ बाट सिफारिस हुन चाहेका थिए । तर, क्षेत्रीय कमिटी र जिल्ला कमिटीले रुपन्देही ३ बाट बासुदेव घिमिरेसहित भुसाललाई सिफारिस गरेको थियो । रुपन्देही १ बाट एमाले सचिव छविलाल विश्वकर्माले टिकट पाएका छन् ।

एमालेभित्र भुसाल अध्यक्ष केपी ओलीका आलोचक मानिन्छन् । उनी एमालेको अगुवाइमा फेरि पनि वाम एकता र गठबन्धन बन्नुपर्ने पक्षमा वकालत गर्दैआएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७९ शनिबार ००:००  ७ : १३ बजे