७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

लुम्बिनीका पहाडी जिल्लामा पहिरोको वितण्डा, प्युठानमा ६ जनाको मृत्यु



मायादेवी अनलाइन, कपिलवस्तु ।
असोजको मध्य तिर अविरल बर्षासंगै आएको पहिरोले लुम्बिनी प्रदेशका पहाडी जिल्लामा संकट आइपरेको छ ।

प्रदेशका विभिन्न जिल्लामा पहिरोले जनधनको क्षति गराएको छ भने, खहरे खोलाले बगाउदा कतिपयको ज्यान गएको छ ।

अधिकांश मुख्य र सहायक सडकहरु पहिरोका कारण भत्किएका छन् । यात्रुहरु बीच बाटोमै अलपत्र परेका विभिन्न जिल्लास्थित हाम्रा सहकर्मीले बताएका छन् ।

प्युठानको माण्डबी गाउँपालिका वडा नम्बर ४ मा पहिरोले घर भासिँदा ६ जना बेपत्ता भएका छन् ।

नेपाली कांग्रेस प्युठानमा उपसभापति देवेन्द्र वर्माले माण्डवी गाउँपालिका– ४ फरण्डेमा शुक्रबार पहिरोले जाँदा घर भासिँदा ६ जना बेपत्ता भएको बताएका छन् ।

उनका अनुसार बेपत्ता हुनेमा ६० वर्षीय ओमबहादुर राई, ५५ वर्षीया उनकी श्रीमती, २१ वर्षीय टेकी राई मगर, १८ वर्षीफय मौसमी थापा मगर, ४ वर्षीय सुसान राई र ६० वर्षीय हिराबहादुर थापा रहेका छन् ।

मंगलबारदेखिको लगातारको वर्षाका कारण देशभरका विभिन्न स्थानमा बाढी र पहिरो आइरहेको छ । जसका कारण सयौं परिवारहरु विस्थापित भएका छन् ।

यस्तै पहिरोको कारण प्युठान–भालुवाङ सडकखण्ड अवरुद्ध भएको छ । प्युठान–भालुवाङ सडक खण्ड अन्तर्गतको खहरेखोला, सिमलचौर, चेरनेटा आसपासका विभिन्न ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

पहिरोले वैकल्पिक सडक र अधिकांश ग्रामीण सडकहरु समेत अवरुद्ध भएको प्युठानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए । उनका अनुसार जिल्लाको देविस्थान, मुर्कुटी हुँदै दाङ झर्ने सडक र खलंगा, चुजाठाँटी हुँदै अर्घाखाँची जाने सडक समेत बिहानैदेखि अवरुद्ध भएको छ ।

मुख्य बाटो अवरुद्ध हुँदा प्युठान र रोल्पा आवतजावत गर्ने यात्रुहरुलाई सास्ती भएको छ । पछिल्लो समय मुख्य सडकसँग जोडेर खनिएका शाखा सडकबाट पानी पर्नासाथ ढुङ्गा माटोसहितको लेदो मुख्य सडकमा आउने गरेको स्थानीयले बताएका छन् । पानीका बाबजुद पनि बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।

पाल्पाको आर्यभञ्ज्याङ्–रामपुर सडकखण्ड दुई दिनदेखि अवरुद्ध बनेको छ । उक्त सडकखण्डको स्याफत, ताहुँ लगायतका स्थानका ग्रामीण सडकमा खसेका पहिरोको कारण सडक अवरुद्ध भएका हुन् । निरन्तर पानी परेका कारण पहिरो हटाउन समस्या परेको छ ।

सडकमा खसेको पहिरोले दुई दिनदेखि सडक अवरुद्ध बनेको स्थानीय बासिन्दा पुरन शर्मा गैरेले बताए । सडक बन्द भएपछि उक्त सडकखण्ड भएर यात्रा गर्ने पूर्वखोला, निस्दी, रामपुर, रम्भाका स्थानीय बासिन्दा प्रभावित बनेका छन् । दुई दिनदेखि अवरुद्ध बाटो खुलाउने प्रयास हालसम्म पनि नभएको स्थानीय बासिन्दाको गुनासो छ ।

उता बाँसटारी–झडेव सडकखण्डको विभिन्न स्थानमा खसेको पहिरोले बिहीबार साँझदेखि नै सडक अवरुद्ध बनेको छ । यस्तै ग्रामीण क्षेत्रमा जाने सडक समेत पहिरोका कारण अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्ग पनि बिहानदेखि पटक–पटक बन्द हुने र खुल्ने क्रम जारी छ । पानी पर्ने बित्तिकै सडकमा पहिरो खस्ने भएकाले यात्रा गर्दा सचेत भएर यात्रा गर्न पाल्पा प्रहरीले आग्रह गरेको छ ।

पाल्पाको रिब्दीकोटमा खोलाले बगाउँदा एक बालिकाको ज्यान गएको छ । रिब्दीकोट गाउँपालिका वडा ६ ठिमुरेस्थित मन्दी खोलाले बगाउँदा रिब्दीकोट–५, नयाँ टोलकी ५ वर्षीया प्रिन्सु पचभैयाको मृत्यु भएको पाल्पा प्रहरीले जानकारी दिएको छ ।

बिहीबार बेलुकी पाँच बजेतिर नयाँ टोलबाट रानीठाँटी जाने क्रममा पचभैयासहित तीन जनालाई खोलाले बगाएको थियो ।

खोला तर्ने क्रममा प्रिन्सु, ३४ वर्षकी कविता पचभैया र ३२ वर्षकी मीना रानालाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

खोलाले बगाएका कविता पचभैया र मीना रानाको भने उद्दार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मीना राना घाइते भएकाले तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा भइरहेको छ ।

कविता भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

अविरल वर्षाको कारण अर्घाखाँचीको सन्धिखर्क–गोरुसिंगे सडकको ठाउँ ठाउँमा अवरोध सृजना भएको छ । यो सडक खण्डको विभिन्न स्थानमा पहिरो र सडक भत्किएको हो ।

सडक अवरोध भएपछि दशैंमा टीका थाप्न गएका र आएका मानिसहरु घर फर्किन पाएका छैनन् । पहिरोका कारण यातायातका साधनहरु नियमित संचालन हुन सकेका छैनन् भने ठाडा, नरपानी र फुदवाङ्गमा गाडीहरुलाई रोक लगाइएको छ ।

अर्घाखाँचीको शितगंगा नगरपालिका ४ बरकोट, वेथरी जंगलमा पहिरो खस्दा सडकखण्ड केहीबेर अवरुद्ध भएको छ । सडक खुल्ने र बन्द हुने क्रम रोकिएको छैन ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ६ जगता, वडा नम्बर ७ घुम्तीमा ठुलो पहिरो खस्दा अवरुद्ध सडक खण्ड खुलाउन डोजर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रवक्ता प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

प्रवक्ता घिमिरेका अनुसार अर्घाखाँचीका भित्री सडक खण्डमा समेत ठूला पहिरोहरु गएका छन् । जिल्लास्थित सुरक्षा निकायको सक्रियतामा सन्धिखर्क नगरपालिका र सडक विभागको समन्वयमा बाटो खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण पहिरो, सडक भत्किँदा सन्धिखर्क नगरपालिका, पाणिनी गाउँपालिका, छत्रदेव गाउँपालिकाका सयौं घरहरु जोखिममा परेका छन् । घरहरु जोखिममा परेपछि मानिसहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अर्घाखाँचीमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । सन्धिखर्क नगरपालिका–७ का १० वर्षीय समीर पौडेल बेपत्ता भएका हुन् ।

दसैँको टीका लगाउन मामाघर हिँडेका पौडेल खज्र्याङ खोला तर्ने क्रममा बगेर बेपत्ता भएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । बेपत्ता बालकको खोजीका लागि नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

यता सहिद मार्गअन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सडक खण्ड फेरि अवरूद्ध भएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९ शुक्रबार ००:००  ५ : ४८ बजे