मायादेवी अनलाइन, बाणगंगा ।
शेर बहादुर देउवा प्रधानमन्त्री भए देखि सत्तारुढ ५ दलिय गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टी (जसपा) अन्ततः बाहिरिएको छ ।
५ दलिय गठबन्धनमा टिकट बाँडफाँड प्रति असन्तुष्टि जनाउँदै जसपा गठबन्धनबाट बारिहएको हो । जसपा गठबन्धनबाट बाहिरिए पनि आसन्न चुनावमा नेकपा (एमाले) संग साठगाँठ गर्ने सुरुसारमा लागेको छ ।
एमालेले प्रतिनिधिसभाका २५ सिट जसपालाई दिने गरी सहमति भएको छ । यद्यपि २५ सिट नभए पनि २२ सिटसम्म जसपाले पाउने नेताहरुले बताएका छन् ।
पश्चिम नेपालमा कमजोर रहेको जसपाको रुपन्देही, कपिलवस्तु र बाँकेका दक्षिणी भेगमा केहीँ राम्रो उपस्थिति देखिन्छ ।
रुपन्देहीमा प्रभावशाली नेता जसपा त्यागेर अन्यत्र गइसके पनि कपिलवस्तुको मायादेवी गाउँपालिका, कपिलवस्तु नगरपालिकामा केही प्रभाव छ ।
एमालेसंगको सहयात्रामा जसपाले कपिलवस्तुको प्रतिनिधिसभा-३ पाउने सहमति भएको स्रोत बताउँछ । ५ दलिय गठबन्धन भित्र पनि जसपाले कपिलवस्तुको-३ नम्बर क्षेत्र अन्तिमसम्म दावी गर्दै आएको थियो ।
५ दलिय गठबन्धनमा यो क्षेत्र नेपाली कांग्रेसले पाइसकेको छ ।
एमाले ३ नम्बर क्षेत्र जसपालाई दिन तयार भएको बुझिएको छ ।
तर, यो क्षेत्रमा मंगलप्रसाद गुप्ता चुनावी तयारीमा जुटिसकेका छन् । जसपाबाट चुनाव लड्ने गरी एमाले आएका गुप्ता प्रतिनिधिसभा लड्ने गरी तयारीमा लागेका हुन् । एमालेले यो क्षेत्रमा गुप्तालाई यस भन्दा अगाडी नै उम्मेद्वार बनाएर मैदानमा खटाइसकेको छ ।
यदी एमालेले जसपालाई यो क्षेत्र दिए यहाँ विद्रोह हुने संकेत देखिएको छ । जसपालाई यो क्षेत्र दिए एमाले भित्र विद्रोह हुन्छ एमालेका एक जना जिल्ला नेताले भने, ‘जसपाको यहाँ प्रभाव नै छैन् । भुगोलको ख्याल नगरी जसपालाई यस क्षेत्र दिए विद्रोह हुन्छ नै ।’
जसपाले यहाँ प्रदेश अध्यक्ष अशोक यादवलाई उम्मेद्वार बनाउदै छ । तर यादव यस क्षेत्रका होइनन् । उनी दाङ निवासी भए पनि उपेन्द्र यादवले अशोकलाई यहाँबाट चुनाव लडाउने तयारी गरेको बताइएको छ ।
प्रतिनिधिसभामा मात्र होइन् जिल्लाका केही प्रदेशसभामा पनि एमाले र जसपाको मिलन हुने संकेत छैन् ।
जसपाले ०७४ को निर्वाचनमा कपिलवस्तु-१ को प्रदेशसभा ‘ख’ जितेको छ । यस क्षेत्रमा जसपाले दावी छाड्दैन् । ५ दलिय गठबन्धनबाट यो क्षेत्र जसपाले पाएको थियो । यद्यपि नेकपा (एस)ले पनि यहाँ दावी गरेको थियो । विगतमा चुनाव जितेको कारण जसपाले यो क्षेत्र पाउने निश्चित प्राय थियो ।
एमाले केन्द्रले यस क्षेत्र जसपालाई दियो भने यहाँ विद्रोह हुने प्रष्ट छ । भर्खर मात्र लोकतान्त्रिक समाजवादी पार्टीका नेता मधुसुदन चौधरी प्रदेशसभामा उठ्ने गरी एमाले प्रवेश गरेका छन् । ०७४ मा झिनो मतान्तरले चुनाव हारेका चौधरी यो निर्वाचनमा सशर्त चुनाव उठ्ने तयारी गरेका छन् । लोसपाबाट पनि उनको नाम सिफारिस भएको भए पनि उनले एमाले रोजेका हुन् ।
एमालेले यस क्षेत्रका उम्मेद्वार बनाउने नेता नपाए पछि चौधरीलाई पार्टीमा ल्याएको हो ।
चौधरी राम्रो जनमत भएका नेता हुन् । उनलाई गुमाउन एमाले कपिलवस्तु नचाहने एक नेताले बताएका छन् ।
यस्तै प्रतिनिधिसभा-२ को प्रदेशसभा ‘ख’ मा पनि एमाले–जसपा बीच सहजै कुरा मिल्ने देखिदैन् । ५ दलिय गठबन्धनले यो क्षेत्र पनि जसपालाई दिन तयार थियो ।
यहाँ पनि एमाले बलियो छ । बुजेश कुमार गुप्ताको क्षेत्र पर्ने यहाँ ०७४ मा पनि सूर्य चिह्नका उम्मेद्वार धर्मबहादुरलाल श्रीवास्तवले चुनाव जितेका थिए । बृजेश नजिक रहेका श्रीवास्तव यहाँबाट लुम्बिनी प्रदेश सांसद छन् । विगत नै जितेको यो क्षेत्र एमालेले अहिले गुमाउन गाह्रो देखिन्छ ।
केन्द्रमा एमाले–जसपाले अर्थ राखे पनि जिल्लामा नराख्ने भएकाले यो गठबन्धन हुने त होइन् भन्ने चिन्तामा एमाले कपिलवस्तुका कार्यकर्ता परेका छन् । यदी केन्द्रले लादेर यहाँ एमाले–जसपा गठबन्धन भयो भने थुप्रै नेताले एमाले छाड्ने पक्कापक्की देखिएको छ ।
प्रतिक्रिया