११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

सरकार जनताको जीवन रक्षाका लागि प्रतिवद्ध छ : गृहमन्त्री खाँण



काठमाडौं ।
गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान सरकार आम नेपालीहरुको जीवन रक्षाका लागि प्रतिवद्ध रहेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले हरेकको जन्म राम्रा कामका लागि हुने भन्दै आत्महत्याको बाटो कसैले रोज्न नहुने बताए। गृहमन्त्री खाणले प्रहरीले पनि आम नागरिकको जनधनको रक्षाका र शान्ति सुरक्षाका लागि प्रतिवद्धतापूर्वक काम उल्लेख गरे। उनले हरेक मानिसले सबैभन्दा पहिला आफ्नो जीवन र समाजको रक्षा गर्न सक्नुपर्ने बताए।

कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपालमा आत्महत्या सम्बन्धी तथ्यांक दिन प्रतिदिन बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे। उनले आर्थिक वर्ष २०७७र०७८ मा ९ हजार ४०९ जनाको कोभिडका कारण मृत्यु भएको र सोही अवधिमा ७ हजार १४१ जनाले आत्महत्या गरेको तथ्यांक बाहिरिएको बताए। उनले कोरानाले आक्रान्त बनाएको बेलामा कोभिडका कारण भन्दापनि आत्महत्याका कारण ज्यान गुमाउनेको संख्या धेरै भएको बताए।

कार्यक्रममा महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपालमा आत्महत्या गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै समस्या समाधानको पहिचान गर्न आवश्यक रहेको बताए। उनले समाजका घटनालाई नजिकबाट नियाल्न र समाजमा फैलिरहेका विकृति, विसंगतितर्फ राज्यको ध्यान जान आवश्यक रहेको बताए।

काठमााडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले जीवनमा जित नभइ हार्न सक्नुपर्ने बताए। उनले हरेक हारबाट धेरै अनुभव लिन सकिने भन्दै हारलाई स्वीकारेर अघि बढ्नु नै जीवन रहेको बताए।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले अहिले युवा पुस्ताले सबैभन्दा धेरै आत्महत्या गरिरहेको बताइन्। उनले सामाजिक सञ्जाललाई सही प्रयोग गर्न नसक्दा पनि कतिपय आत्महत्याका घटना हुने गरेको भन्दै यसतर्फ सबै सचेत हुन जरुरी रहेको बताइन्।

प्रकाशित मिति : २ आश्विन २०७९ आइतबार ००:००  ११ : ४९ बजे