११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

उद्यमीहरुलाई व्यवसायिक योजना तयारी र ऋण प्राप्तिबारे सहजीकरण



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुका उद्यमीहरुलाई ब्यवसायिक योजना तयारी र ऋण प्राप्तिबारे जानकारी गराइएको छ । शुक्रबार वाणगङ्गाको ठाकुरापुरमा रहेको पिस हिमालय रिसोर्टमा जिल्लाका उद्यमीहरुलाई भेला गराई उद्यमबारे ब्यवसायिक योजना र ऋण प्राप्तिको प्रक्रियाबारे जानकारी गराइएको थियो ।

कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुको आयोजना र घरेलु तथा साना उद्योग महासंघको समन्वयमा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि घरेलु तथा साना उद्योग महासङका केन्द्रिय सदस्य फूलकुमारी श्रेष्ठले उद्यमी महिलालाई प्रोत्साहन गर्नुपर्ने बताउनु भयो ।

यस्तै कपिलवस्तु उद्योग वाणिज्य संघका उपाध्यक्ष इन्दिरा पन्त, पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले यस कार्यक्रमबाट उद्यमीलाई ब्यवसाय गर्न र ऋण प्राप्त गर्न सहज हुने भन्दै उद्यमी तथा ब्यवसायीको प्रबर्द्धनका लागि प्रभावकारी कार्यक्रम गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशिक्षक जनता मा.वि पिपराका प्राचार्य रमेश पन्थीले नेपालमा हालको बजार अवस्था र यसको ब्यवस्थापनबारे जानकारी गराउनु भएको थियो । उहाँले बजारको अवस्था बढ्दो भएपनि यसको ब्यवस्थापन हुन नसकेको भन्दै प्रतिस्पर्धात्मक समयमा यसको ब्यवस्थापन गरेर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा ऋण प्राप्तिको प्रक्रियाबारे प्रकाश रानाले प्रस्तुति दिनुभएको थियो भने ब्यवसायिक योजनाबारे ज्योति पाण्डे र त्रिपुरारी चाईले योग शिक्षाको महत्त्व प्रस्टाउनु भएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख कालिदास बस्यालको अध्यक्षता रहेको कार्यक्रमको संचालन गोबिन्द तेलीले गर्नु भएको थियो । कार्यक्रममा जिल्लाका उद्यमी तथा ब्यवसायीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७९ शुक्रबार ००:००  ६ : १२ बजे