११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

अनवरत मधेस केन्द्रीत दलमा सक्रिय मिश्रा, लोसपाबाट प्रदेशसभामा चुनाव लड्दै



मायादेवी अनलाइन, बाणगंगा ।
जिल्लाका अधिकांश नेता मधेस केन्द्रीत दलबाट लाखापाखा लाग्दा अविचलित रुपमा मधेस केन्द्रीत विरासतको राजनीतिमै सक्रिय नेता हुन् रविदत्त मिश्रा । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय नेता समेत रहेका मिश्रा सद्भावना पार्टी हुँदै लोसपासम्म आएका छन् ।

मधेस आन्दोलनमा पश्चिम कपिलवस्तुका अगुवा मध्येका एक मिश्रा आसन्न मंसीर ४ को निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेद्वार सिफारिस भएका छन् ।

प्रतिनिधिसभा ३ र सोही क्षेत्रको प्रदेशसभा ‘क’ बाट सिफारिस भएका मिश्रा अन्ततः प्रदेशसभामा उठ्ने प्रवल सम्भावना छ ।

०७४ को निर्वाचनमा झिनो मतान्तरले प्रदेशसभा सदस्यमा पराजित भएका मिश्रा गत बैशाख ३० को स्थानीय तह निर्वाचनमा शिवराज नगरपालिकाको नगर प्रमुखमा चुनाव लडेका थिए ।

नगर प्रमुखमा सोचेजस्तो नतिजा नआए पनि स्थानीय तहको चुनावमा लोसपाले शिवराज नगरपालिकाको दुई वडामा जित निकाल्न सफल भएको थियो ।

निरन्तर मधेस केन्द्रीत दलमा सक्रिय मिश्रा आसन्न चुनावमा जनताले अनुमोदन गर्ने विश्वास व्यक्त गरे । निरन्तर जनताको सुख, दुःखमा सक्रिय भएको हिसाबले पनि जनताले यो निर्वाचनमा आफूलाई मत दिनेमा उनी विश्वस्त छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७९ शुक्रबार ००:००  १० : १३ बजे