११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

म्यादी प्रहरी भर्ना सुरु



काठमाडौँ ।

आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि झन्डै तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने तयारी थालिएको छ।

गृह मन्त्रालयले गत आइतबार निर्वाचन विशेष सुरक्षा योजना पारित गरेसँगै निर्वाचन सुरक्षा तयारी अघि बढेको हो। जसअनुसार बिहीबारदेखि निर्वाचन सुरक्षाका लागि आवश्यक एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु भएको छ।

बिहीबार २२ हजार ८८० जनाको दरखास्त

परेको जनाइएको छ । जसमा मधेश प्रदेशमा सबभन्दा बढी आठ हजार ४१३ र सबभन्दा कम कर्णाली प्रदेशमा ५८० जनाको दरखास्त परेको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा करिब दुई लाख ६५ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो। आगामी निर्वाचनमा मतदाता, मतदान केन्द्र तथा मतपेटिकाको सङ्ख्या वृद्धि हुने भएकाले करिब तीन लाखको हाराहारीमा सुरक्षाकर्मी परिचालन गर्ने गृह मन्त्रालयले तयारी गरिरहेको छ।

निर्वाचन सुरक्षाका लागि झन्डै ७५ हजार नेपाली सेना, ७२ हजार नेपाल प्रहरी, ३५ हजार सशस्त्र प्रहरी तथा २० हजारको हाराहारीमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटाउने तयारी छ।

मन्त्रालयले म्यादी प्रहरीको भर्ना, छनोट तथा परिचालनको जिम्मेवारी नेपाल प्रहरीलाई तोकेको छ। जसअनुसार बिहीबारदेखि देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत आवेदन लिन सुरु गरिएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले म्यादी प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्डअनुरूप भर्ना प्रक्रिया अघि बढाइएको बताउनुभयो।

निर्वाचनमा देशभर २२ हजार ५३४ मतदान केन्द्र रहने र त्यसको सुरक्षाका लागि ७१ हजार ६९३ प्रहरी तथा एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। यस निर्वाचनमा झन्डै पाँच लाख नयाँ मतदाताको सङ्ख्या वृद्धि हुने भएको छ। म्यादी प्रहरी भर्नाका लागि प्राथमिकता तय गर्दै यसअघिको स्थानीय निर्वाचनमा काम गरेका तथा पूर्वसुरक्षाकर्मीलाई म्यादी प्रहरीमा भर्नाका लागि प्राथमिकता दिइने भएको छ।

म्यादी प्रहरी छनोट गर्दा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट अवकाशप्राप्त सुरक्षाकर्मी तथा पूर्ववनरक्षकलाई समेत प्राथमिकतामा राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

म्यादी प्रहरीको भर्ना छनोटका लागि मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छनोट समितिसमेत गठन गरिसकेको छ। जसमा ७७ वटै जिल्लाका तैनाथ सेनाका प्रमुख सेनानी वा सेनानी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका जिल्ला सुरक्षा प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका निरीक्षक रहेका छन्।

छनोट भएका म्यादी प्रहरीलाई निर्वाचन सुरक्षार्थ अवधिभर ४० दिन परिचालन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
त्यसबापत ३४ हजार ७६० रुपियाँ पारिश्रमिक, खाद्यान्न भत्ताबापत सात हजार दुई सय रुपियाँ एकमुष्ट उपलब्ध गराइनेछ। त्यसैगरी पोसाकबापत छ हजार रुपियाँ तथा हिमाली जिल्लामा खटिने म्यादी प्रहरीका लागि न्यानो पोसाक खरिदबापत थप एक हजार रुपियाँ उपलब्ध गराइनेछ।

प्रकाशित मिति : ३१ भाद्र २०७९ शुक्रबार ००:००  ९ : ०६ बजे