११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटनाबाट जोगायो : सिंह



काठमाण्डौ ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्कालीन नेकपा सरकारले संविधानको भावना, मर्मअनुसार काम नगरेको र संसद्लाई दुई पटक भङ्ग गरेका कारण संविधान जोगाउनका लागि गठबन्धन सरकार बनेको दाबी गर्नुभएको छ । आज काठमाण्डौमा आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र संसद्लाई दुई पटक भङ्ग गरेको कारणले संविधानलाई जोगाउनको लागि बनेको हो यो गठबन्धन सरकार । देश ठूलो दुर्घटनाबाट जोगाएर ट्र्याकमा लैजाने काम यो सरकारले गरिरहेको छ ।’

गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको भन्दै उहाँले आउँदो चुनावबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आम मतदाताहरुले विकास गर्ने पार्टी र नेताहरुलाई मतदान गरेर जिताउनुपर्ने बताउनुभयो ।

साथै नेता सिंहले वाग्मती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको बताउनुभएको छ । उहाँले काठमाण्डौ जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले वाग्मती नदीको किनारका बस्तीहरुको आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गर्ने गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।

प्रकाशित मिति : ३० भाद्र २०७९ बिहिबार ००:००  २ : १० बजे