११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

सत्ता गठबन्धनले लुम्बिनीमा बाँडफाँट गरेको सिट संख्या यस्तो छ



कपिलवस्तु ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुले अब केही दिन प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने छैनन् । २ र ३ असोजमा समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाउनुपर्ने भएकाले दलहरु त्यसतर्फ केन्द्रित भएका छन् ।

गठबन्धनमा आवद्ध दलका नेताहरुका अनुसार प्रत्यक्षतर्फ पनि ११० भन्दा बढी निर्वाचन क्षेत्रको सिट बाँडफाँटमा सहमति भइसकेको छ । लुम्बिनी प्रदेशको अर्घाखाँची काँग्रेसको भागमा परेको छ ।

अर्घाखाँचीमा काँग्रेसबाट केन्द्रीय सदस्य तथा उपसभामुख पुष्पा भुसाल, महाधिवेशन प्रतिनिधि डा. रामबहादुर बिसी, पार्टीको प्रदेशका सहमहामन्त्री विष्णु मुस्कान, पूर्वराज्यमन्त्री रेवती भुसाल, महाधिवेशन प्रतिनिधि लेखनाथ पोखरेल, मुक्ति श्रेष्ठ सिफारीसमा छन् । एमालेले अर्घाखाँचीमा टोपबहादुरलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै पाल्पाको २ क्षेत्रमध्ये कांग्रेस र एकीकृत समावादीले १–१ वटा लिनेछ । गुल्मीको १ कांग्रेसले लिनेछ भने २ एकीकृत समावादीलाई छाड्न गठबन्धनका दलहरु सहमत भएका छन् । प्युठान राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई छाड्न गठबन्धनमा दलहरु सहमत भएका छन् ।

रुकुम पूर्व र रोल्पा माओवादी केन्द्रको भागमा परेको छ भने दाङको १ एकीकृत समाजवादी, २ माओवादी र ३ कांग्रेसको भागमा परेको छ । बाँकेको क्षेत्र नम्बर १ माओवादी, २ जसपा र ३ कांग्रेसले लिने छन् भने बर्दियाको १ कांग्रेस र २ माओवादीको भागमा पर्ने लगभग टुंगिएको छ ।

रुपन्देहीको १ मा कांग्रेस, जसपा र एकीकृत समाजवादीको दाबी छ भने २ मा कांग्रेस र एकीकृत समाजवादीको । बाँकी ३, ४ र ५ मा कांग्रेसलाई छाड्न अरु दल सहमत भएका छन् । कपिलवस्तुको १ माओवादी केन्द्रले लिनेछ भने २ र ३ कांग्रेसको भागमा परेको छ ।

स्रोत अनलाइनखबर

प्रकाशित मिति : २९ भाद्र २०७९ बुधबार ००:००  ८ : ५८ बजे