मायादेवी अनलाइन, बाणगंगा ।
चकर्दो मधेस आन्दोलनमा पश्चिमी कपिलवस्तुको अग्रभागमा रहेर नेतृत्व गरेका इश्वर दयाल मिश्रा अहिले जिल्लामा कमजोर देखिएका छन् ।
लोकतान्त्रिक-गणतन्त्र स्थापनासंगै भएको मधेस आन्दोलन पश्चात मिश्रा तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट राजनीतिमा सक्रिय भएका थिए ।
०६४ सालमा तमलोपाबाट तत्कालिन क्षेत्र नं. ४ मा संविधानसभा सदस्य भएका मिश्रा ०७० मा तेस्रो स्थानमा आउँदै पराजित भएका थिए ।
०६४ मा चुनाव जितेर राज्यमन्त्री समेत हुने मौका उनले पाएका थिए ।
०७४ मा बामगठबन्धनबाट प्रतिनिधिसभा-३ मा उम्मेदवार रहेका मिश्र तेस्रो स्थान हासिल गर्दै पराजित भएका थिए ।
त्यो चुनावमा उनले स्वतन्त्र समूहबाट एमालेको सूर्य चिह्न लिएर चुनाव लडेका थिए ।
हृदेश त्रिपाठीले नेतृत्व गरेको जनता प्रगतिशिल पार्टीका महासचिव समेत रहेका मिश्राको पार्टीले गत स्थानीय तहको चुनावमा जिल्लामा एक वडामा जित हासिल गरेको छ ।
महाराजगन्ज नगरपालिका वडा नं. ७ मा जनता प्रगतिशिल पार्टीका रामरुप बढईले चुनाव जितेका हुन् । यो ठाउँ नेता मिश्राको पकेट क्षेत्र हो ।
स्थानीय तहमा जनता प्रगतिशिल पार्टीले पाएको मत जिल्लामा न्यून देखिन्छ । प्रतिनिधिसभा-३ मा कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र महराजगन्ज नगरपालिकाका केही वडा रहेका छन् ।
यी पालिकामा जनता प्रगतिशिल पार्टीका मेयरले पाएको मत ११ सय ८१ मात्र छ । महराजगन्जमा मेयरमा उम्मेद्वार उठाए पनि कृष्णनगर र विजयनगरमा उप-प्रमुखमा मात्र उम्मेद्वार उठेका थिए ।
विजयनगर गाउँपालिकाको उपाध्यक्षले १ सय ७ मत पाए भने कृष्णनगरका उप-प्रमुखले ११ सय ६० मत ल्याएका थिए ।
कमजोर चुनावी मतपरिणामका बाबजुत मिश्रले प्रतिनिधिसभा-३ मा उम्मेदवार हुने चाहना राखेका हुन् ।
प्रतिक्रिया