११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

विद्यार्थी अपहरण भनेर दिग्भ्रमित गराउनेलाई कारबाही हुन्छ : बुटवल उपमहानगर



बुटवल ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले विगत केही दिनदेखि बालबालिका अपहरणका घटना भन्दै सामाजिक सञ्जालहरुमा फैलिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । उपमहानगरले मँगलबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालहरुमा फैलिएका कुरा अफवाह भएको बताउँदे झुटा प्रचार गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाउने चेतावनी समेत दिएको छ ।

‘सामाजिक सन्जालहरुमा व्यापक रुपमा फैलाइएको विद्यार्थी अपहरणसम्बन्धी दिग्भ्रमित गराउने खालका झुटा प्रचारहरुलाई आधार मानी यस बुटवल उपमहानगरपालिका अन्तरगतका केही विद्यालयहरुले समेत सूचना प्रकाशित गरेको हुँदा यसप्रति उपमहानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’–उपमहानगरका शिक्षा शाखा प्रमुख मित्रमणी खनाल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी तथा नगर प्रमुख खेलराज पाण्डेले हस्ताक्षरसहितको जारी विज्ञप्तिमा लेखिएको छ, ‘उपमहानगरपालिकामा कुनै घटनाहरु जानकारीमा नआएको हुँदा त्यस्ता भ्रामक सूचना, तस्वीर र भिडियोहरुको पछाडि नलाग्नुहुन सबैमा अनुरोध छ । यदि, त्यस्ता अपराधसम्बन्धी कुनै सूचना प्राप्त भएमा, जिल्ला प्रशासन कार्यालय रुपन्देही, नजिकको प्रहरी कार्यालय, वडा कार्यालय वा यस उपमहानगरपालिकामा जानकारी गराउनुहुन समेत अनुरोध छ ।’

जारी विज्ञप्तिमा उपमहानगरपालिका अन्तरगतका विद्यालयहरुले स्पष्ट आधार, प्रमाण र अनुमति विना अभिभावक तथा विद्यार्थीहरुलाई दिग्भ्रमित गराउने सूचना सम्प्रेषण गरेको भन्दै प्रचलित कानूनबमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराइएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९ मंगलबार ००:००  ३ : १७ बजे