११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

डेंगू रोग नियन्त्रणका लागि छत्रकोटमा अभिमुखीकरण कार्यक्रम



टोपराम केसी, गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिकाले गाउँपालिका अन्तर्गतका स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुका लागि किटजन्य रोगको नियन्त्रणलाई मध्यनजर गरि बहुनिकायसँग अन्तरक्रिया तथा डेंगु रोग नियन्त्रण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँपालिकास्थित सभाहलमा भएको कार्यक्रम छत्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलको अध्यक्षमा सम्पन्न भएको हो । कार्यक्रममा छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयको प्रमुख आतिथ्यता एवम् गाउँपालिकाकी उपाध्यक्ष सावित्रा ज्ञवाली र स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा.पशुपति आचार्यको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्क्रव टाईपस रोगका सम्वन्धमा सुमन सापकोटा र मलेरिया रोगका सम्वनधमा श्रीकृष्ण भट्टराईले अभिमुखीकरण गर्नु भएको थियो । कार्यक्रमले गाउँपालिकाभर का समुदाय, विद्यालय र आमा समूहमा सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने र रोग निदानका लागि डेङ्गु रेपिड टेस्टको दायरा बढाउने निष्कर्ष निकालेको छ ।

केही समय यता गुल्मी जिल्ला लगायत देशैभर डेङ्गुको सङ्क्रमण तिव्र रुपमा फैलिदै गएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको स्वास्थ्य शाखा प्रमुख पोख्रेलले बताउनु भयो । कार्यक्रममा छत्रकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम आचार्य, जनप्रतिनिहरु तथा गाउँपालिमा सञ्चालित सबै स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगाएतको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखामा कार्यरत अ.हे.व समना टण्डनले गर्नु भएको थिय‍ो ।

प्रकाशित मिति : २८ भाद्र २०७९ मंगलबार ००:००  ९ : १८ बजे