११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

चिनियाँ जनकंग्रेसका अध्यक्ष लीले आज उच्चस्तरीय राजनीतिक भेटघाट गर्दै



काठमाण्डौ ।

नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज उच्चस्तरीय राजनीतिक भेटघाट गर्दै हुनुहुन्छ । उहाँले आज प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

नयाँ बानेश्वरमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेनासँग बिहान ९ बजे भेटवार्ताको तालिका छ । यस्तै, उहाँले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई पनि सङ्घीय संसद् भवनमै भेट्ने तयारी छ । त्यसपछि परराष्ट्रमन्त्री नारायण खड्कासँग सोल्टी होटलमा भेटवार्ता हुनेछ भने त्यसपछि प्रधानमन्त्री देउवालाई भेट्न उहाँ बालुवाटार जाने तयारी छ । उहाँले भोलि दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति भवन शीतल निवासमा भेट्ने कार्यक्रम छ भने त्यसअघि बिहान भक्तपुरको भ्रमण गर्ने तालिका छ ।

ली पर्सि बिहीवार फर्किनु हुनेछ । उहाँको सुरक्षाका लागि भन्दै काठमाण्डौमा सुरक्षा व्यवस्था कडा पारिएको छ । ६७ जनाको टोलीको नेतृत्व गर्दै हिजो नेपाल आइपुगेका जनकंग्रेस स्थायी समितिका अध्यक्ष लीले हिजै सभामुख अग्निप्रसाद सापकोटासित भेटवार्ता गर्नुभएको थियो ।

भेटका क्रममा नेपाल र चीनबीच संसदीय सहकार्य गर्ने अन्तरसंसदीय सहयोग सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । संसद् भवन नयाँ बानेश्वरमा आयोजित विशेष समारोहमा ६ बुँदे समझदारीपत्रमा सभामुख सापकोटा र अध्यक्ष लीले हस्ताक्षर गर्नु भएको थियो ।

भेटमा सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनु भएको थियो भने ली ले दशैँअघि नै नेपालसँग जोडिएका नाकालाई सहज बनाउने बताउनु भएको थियो । यस्तै, भेटमा केरुङ– काठमाण्डौ रेलमार्ग निर्माणलाई अघि बढाउनेलगायत विषयमा पनि छलफल भएको छ। रासस

प्रकाशित मिति : २८ भाद्र २०७९ मंगलबार ००:००  ८ : १२ बजे