१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

देशलाई बलियो शक्तिको खाँचो छ : एमाले महासचिव पोखरेल



घोराही ।
नेकपा एमाले का महासचिव शङ्कर पोखरेलले देशलाई अहिले गठबन्धनभन्दा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, दाङ शाखाले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । देशको विकास र समृद्धिका लागि देशलाई बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको उहाँको भनाइ छ ।

महासचिव पोखरेलले आउने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनले एमालेलाई बलियो शक्तिका रूपमा स्थापित गराउने विश्वास व्यक्त गर्नुभयो । ‘देशको विकासका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता छ । त्यसका लागि हामी तयारीमा जुटेका छौ’ महासचिव पोखरेलले भन्नुभयो, ‘आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले एमालेलाई बलियो शक्तिका रूपमा स्थापित गर्नेछ ।’

दलहरूसँग राष्ट्रको विकास र समृद्धिका लागि आफ्नो नीति, विचार, सिद्धान्त र कार्यक्रम हुने गरेको भए पनि गठबन्धनका नाममा नेपाली कांग्रेसले आफ्नो नीतिगत सामर्थ्य गुमाइसकेको टिप्पणी गर्नुभयो । ‘नेपालको पुरानो पार्टी कांग्रेस भए पनि गठबन्धनको नाममा आफ्नो नीति, विचार र सिद्धान्त गुमाइसकेको छ’ पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भन्नुभयो, ‘अहिले कांग्रेसले आफ्नो अस्तित्व रक्षा गठबन्धनका माध्यमबाट खोजिरहेको छ ।’

महासचिव पोखरेलले आगामी निर्वाचन गठबन्धन भर्सेज बलियो राष्ट्रिय शक्तिबीचमा प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो । ‘आउने निर्वाचनको विशेष महत्त्व छ । यो पार्टीको हारजितको मात्र निर्वाचन होइन । परमादेश भर्सेज जनादेश पक्षमा लाग्ने शक्तिको निर्वाचन हो’ महासचिव पोखरेलले भन्नुभयो ।

लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका पोखरेलले प्रदेशका संरचनाहरू स्थायी राजधानीमा ल्याउने नल्याउने वर्तमान सरकारमा निर्भर रहने चर्चा गर्नुभयो । ‘प्रादेशिक राजधानीका संरचना स्थायी राजधानीमा ल्याउने कि नल्याउने भन्ने सवाल वर्तमान सरकारमा निर्भर रहने कुरा हो’ महासचिव पोखरेलले भन्नुभयो, ‘पहिलो सरकार रहिरहेको भए अहिलेसम्म यो विषय टुङ्गो लागिसक्थ्यो ।’

प्रकाशित मिति : २६ भाद्र २०७९ आइतबार ००:००  ५ : २७ बजे