काठमाडौं ।
जनता समाजवादी पार्टी नेपाल प्रदेश समितिले सप्तरी क्षेत्र नम्बर २ को प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । उक्त पार्टीले सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवको एकल नाम सिफारिस गरेको छ भने सप्तरी–२ (क) का लागि प्रदेशसभा सदस्यको उम्मेदवारमा शैलेन्द्र साह, अमरनाथ मण्डल र नेत्रविक्रम साहको नाम सिफारिस गरेको छ ।
शैलेन्द्र साह अघिल्लो चुनावमा त्यहीबाट प्रदेशसभा सदस्यमा जितेका थिए । नेत्रविक्रम साह तत्कालीन राजपा नेपालका समानुपातिक प्रदेश सांसद हुन् । हाल उनी जसपामा छन् । त्यस्तै सप्तरी–२ ख का लागि प्रदेशसभा सदस्यको उम्मेदवारमा मनिष सुमन, दिनेश यादव, युसुफ अलि, किरण यादवको नाम सिफारिस गरिएको छ । मनिष सुमन यसअघिको चुनावमा सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा चुनाव जितेका हुन् ।
जसपा अध्यक्ष यादवको नाम सप्तरी–२ सहित अन्य आठ ठाउँबाट पनि नाम सिफारिस भएको छ । तर उनी सप्तरी–२ बाट नै चुनाव लड्ने तयारीमा लागेका छन् । उनी यसअघि सप्तरी–२ बाट नै चुनाव जितेका हुन् ।
प्रतिक्रिया