१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

कामको आधारमा प्रतिनिधि चयन गर्नुपर्छः महामन्त्री आचार्य



कपिलवस्तु ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री एवं पूर्व सिचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यले जनताले काम गर्ने नेतालाई चयन गनुपर्ने समय आएको बताएका छन् ।

नेपाली कांग्रेस बुद्धभूमि नगर समितिले हनुमान चौकमा राखेको जनताको साथमा कांग्रेस अभियान बैठक तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै आचार्यले सो कुरा बताएका हुन ।

उनले जनता न्यायधिश रहेको भन्दै आगामी मंसिर ४ गते मतदान गर्दा कामको मूल्यांकन गर्ने समय आएको बताए । २०७४ सालमा स्वतन्त्रको नाममा एमालेको चुनाव चिन्ह लिई जितेका सांसद बृजेश कुमार गुप्ताले आफ्नो स्वार्थ अनुकुल बिभिन्न दल फेर्दै एमालेमा प्रबेश गरेको बताए ।

राप्रपा, तमालोपा, स्वतन्त्र लगायत दलहरु फेरेर अहिले उत्तर तर्फको भोट पाएर जित्ने आशामा गुप्ता एमालेको प्रबेश गरेको उनले बताए । आफ्नो भिजन र दुष्टिकोण नै नभएको र खाली जित्नैका लागि पार्टी फर्नेलाई जनताले यसपालीको निर्वाचनमा चिन्नु पर्ने बताए ।

आचार्यले चुनाव जिते पनि नजिते पनि जिल्लाको सम्रग विकासमा दिनहुँ काम गरिरहेको बताए । बिगतमा आफूले चुनाव जित्दा उत्तरी र दक्षिणी लगायतका क्षेत्रमा निरन्तर काम गरेको स्मरण समेत गरे ।

साथै आफ्नो निर्वाचन क्षेत्रमा नपरेका उत्तरी तर्फका गाउँहरुमा सिचाईको ब्यवस्था गरेको दाबी गरे । आफना दाजु स्वर्गीय बिष्णुराज आचार्यले गोरुसिंगे र ईमिलियामा तत्कालीन समयमा चलाएको बस्ती विकास योजनाका कारण अहिले ती दुबै स्थान धेरै बिकसित भएको बताए ।

साथै डुमरा-हर्दौना सडक, टिक्कर -बुड्ढी-विचगौरी सडक लगायतका काम पनि विगत देखि वर्तमानसम्म स्तरोन्नती गरेको बताए । उनले यस पटक यस क्षेत्रका मतदाताहरुले आफूलाई जिम्मेवारी दिने र त्यो जिम्मेवारी आफूले पुरा गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।

सो अवसरमा पार्टीका प्रदेश सदस्य एवं पूर्व एसएसपी बिक्रम सिंह थापाले सुशानस बिकास, स्थिरताका लागि कांग्रेसलाई मतदान गर्नु पर्ने बताए ।

उनले कांग्रेसले राम्रै काम गरकोले महाराजगंज र बुद्धभूमिमा दोहोरिएर मेयरले जितेकाले पनि कांग्रेस प्रति जनताको लगाव रहेको उनले बताए । सो अवसरमा पार्टीका जिल्ला सभापति अब्दुल कलामले पार्टीको अनुशासन तोड्ने, अन्तरघात गर्ने लगायतका पार्टी बिरोधी गतिबिधि गर्नेहरुलाई टिकट दिन नहुने बताए ।

त्यस्तै क्षेत्र नं २ का सभापति केशव कुमार श्रेष्ठले लोकतन्त्रलाई बचाउन र विकासलाई अगाडी लैजानको लागि नेपाली कांग्रेसलाई मतदान गर्नुपर्ने बताए । संविधानको रक्षा गर्ने र कार्यान्वन गर्ने एक मात्र दल कांग्रेस भएकाले विकास र देशको रक्षाको लागि कांग्रेसको नेतृत्व जरुरी रहेको बताए ।

नगर सभापति माधव दमासेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सदस्य रोमलाल खनाल, कपिलदेव तिवारी जिल्ला उप-सभापति रजतराज आचार्य, महिला संघकी अध्यक्ष मिना केसी, जिल्ला सदस्य सिता न्यौपाने लगायत बोलेको कार्यक्रमको संचालन नगर सचिव कमल अधिकारी र स्वागत नगर उप-सभापति सुरज प्रताप राणाले गरेका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७९ आइतबार ००:००  ६ : ४७ बजे