काठमाण्डौ ।
काठमाण्डौमा जारी छैटौँ संस्करणको साफ महिला च्याम्पियनशिपमा शुक्रवार श्रीलङ्कामाथि पाँच–शून्यको सहज जित निकालेको भुटानले पहिलो पटक प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा श्रीलङ्कालाई हराउँदै भुटानले पहिलो पटक साफ च्याम्पियनशिपको अन्तिम चारमा पुग्ने सम्भावना बनाएको हो । भुटानले साफ महिला इतिहासमै पहिलो जित निकालेको हो ।यसअघि भुटानले बङ्गलादेशमा आयोजना भएको सन् २०१० को संस्करणमा श्रीलङ्कासँग एक–एक गोलको बराबरी खेलेको थियो ।
त्यसयता भुटानले साफ महिला च्याम्पियनशिपमा राम्रो नतिजा निकाल्न सकेको थिएन । सम्पन्न पाँच संस्करणका प्रतियोगितामा भुटान सबैभन्दा धेरै गोल खाने टोलीमा गनिँदै आएको छ भने भुटानले समूह चरणभन्दा माथिको यात्रा तय गर्न सकेको थिएन । तर शुक्रवारको नतिजाले भुटानको महिला टोलीले नयाँ उचाइ पाएको छ ।
भुटानको जितमा डेखी लाजोमले दुई गोल गर्दा न्याम्गेल डेमा, छिरिङ लाडेन र छिरिङ याङदेनले समान एकरएक गोल गरे ।
यसैबीच आयोजक नेपालले आउँदो सोमवार श्रीलङ्कालाई पराजित गरे नेपाल समूह विजेताको रूपमा अन्तिम चारमा पुग्नेछ । श्रीलङ्काले नेपालसँग बराबरी खेल्दा पनि उसको यात्रा समूह चरणमा समाप्त हुनेछ । श्रीलङ्कालाई अघिल्लो चरण पुग्नका लागि नेपालसँगको खेलमा कम्तीमा पनि चार गोलको अन्तर हुनुपर्नेछ ।
समूह ुबीु अन्तर्गत आफ्नो दोस्रो खेलमा सुखद नतिजा निकालेको भुटान यसअघि पहिलो खेलमा नेपालसँग चार–शून्यले पराजित भएको थियो । समूह ुबीु मा भुटानले दुई खेलबाट तालिकामा तीन अङ्क जोडेको छ । भुटान शीर्ष स्थानमा उक्लिँदा एक खेल कम खेलेको नेपाल समान तीन अङ्कका साथ दोस्रो स्थानमा छ । तालिकाको पुछारमा रहेको श्रीलङ्का भने तालिकामा अङ्कविहीन छ ।
च्याम्पियनशिपमा भोलि शनिवार दुई वटा खेल हुनेछ । दिनको पहिलो खेल १ बजे पाकिस्तान र बङ्गलादेशबीच हुनेछ भने बेलुका साढे ५ बजे दोस्रो खेलमा माल्दिभ्स र भारत प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया