१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

निर्माणाधिन बुटवल- नारायणगढ सडकखण्डको म्याद थप



रुपन्देही ।

राष्ट्रिय गौरवका आयोजना अन्तरगत निर्माणाधिन बुटवल-नारायणगढ सडकखण्डको काम समयमा पूरा हुन नसकेपछि फेरि म्याद थप गरिएको छ ।

एक वर्षका लागि सडक विस्तारको म्याद थपिएको हो । म्याद थप गरिएसँगै उक्त सडकखण्ड पूरा हुन अझै एक वर्षसम्म लाग्ने देखिएको छ । सडक नबन्दा पूर्व पश्चिम भएर चल्ने सवारी साधन र यात्रुहरुले सास्ती खेप्दै आएका छन् । नवलपरासी पश्चिममा पर्ने पुर र कल्भडहरु भने पूरा भएका छन । सम्झौताअनुसार गत साउन तेस्रो हप्तामा सम्पन्न हुनुपर्ने सडकको काम अहिलेसम्म १८ प्रतिशत मात्र भएको छ ।

गत साउनको २३ गतेदेखि लागू हुनेगरी एक वर्ष लागि आयोजनाको म्याद थपिएको नारायणघाट–बुटवल सडक विस्तार आयोजनाका पश्चिम सेक्टरका प्रमुख प्रदीपराज शाक्यले जानकारी दिए । ४२ महिनाभित्र सम्पन्न गर्नेगरी उक्त सडक विस्तारका लागि २०७५ माघमा नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ साउनभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । समयमा काम नगर्ने निर्माण कम्पनीलाई कोभिड–१९ को महामारीको कारण देखाउँदै म्याद थप गरिएको हो ।

काम गर्न नसकेपछि ठेक्का नै तोड्न दबाब बढेको थियो । २ प्याकेजमा विभाजन गरी सडक निर्माण हुँदै छ । गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.५ किलोमिटर खण्डलाई प्याकेज १ र दाउन्नेदेखि बुटवलको ४८.५ किलोमिटर खण्डलाई प्याकेज २ निर्धारण गरेर काम भएको हो । विस्तार भइरहेको सडकको कुल लम्बाइ ११३ किलोमिटर रहेको छ ।

सडकखण्डको ‘स्टान्डर्ड’ चौडाइ चार लेन २४ मिटर हुनेछ । अन्य क्षेत्रमा सडकको कुल चौडाइ ‘मेडियन’सहित चार लेनको हुन्छ भने ग्रामीण र सहरी क्षेत्रमा चार लेनका साथै ‘सर्भिस ट्रयाक’समेत निर्माण गरिनेछ । ‘मेडियन’को चौडाइ तीन मिटर हुनेछ । गैंडाकोट–दाउन्नेखण्डको सहरी क्षेत्र १७.७ किमिमा दुवैतर्फ ६ मिटरको ‘सर्भिस ट्रयाक’ पनि निर्माण भइरहेको छ । त्यसैगरी ग्रामीण क्षेत्र ४२.७ किमि ‘सर्भिस ट्रयाक’बाहेक चार लेनको सडक निर्माण भइरहेको छ ।

त्यसैगरी दाउन्ने उकालो क्षेत्रको ४.१ किलोमिटरमा विस्तारपछि पनि यो राजमार्ग तीन लेनको मात्र हुने छ । आयोजनाका अनुसार एसियाली विकास बैङ्क एडीबी ऋण सहयोगमा कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँ लागतमा राजमार्गको विस्तार भइरहेको छ । लागतको ८५ प्रतिशत रकम एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारको लगानी छ ।

आयोजनाका अनुसार, गैँडाकोट–दाउन्ने सडकखण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवलखण्डको लागत सात अर्ब ८६ करोड ३४ लाख रहेको छ । काम सुरु भएको चार वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसके पछि नारायणगढ–बुटवल सडकखण्डको फेरि म्याद थप गरिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९ बिहिबार ००:००  ३ : २७ बजे