काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले भेदभावपूर्ण व्यवहार गरेको भन्दै गोटा गन्तीमा मिटर रिड गर्दै आइरहेका देशभरका ६२२ जना मिटर रिडर्स आन्दोलनमा उत्रिएका छन् । मिटर रिडर्स संघर्ष समितिको नेतृत्वमा गोटा गन्तीमा मिटर रिड गर्दै आइरहेका रिडर्स आजदेखि केन्द्रीय कार्यालय रत्नपार्कमा आन्दोलनमा उत्रिएका हुन् ।
समितिका सचिव उज्ज्वल झाले आजदेखि प्राधिकरण नेतृत्व विरुद्ध आन्दोलन र आमरण अनसन सुरू गरेको बताए । खासगरी प्राधिकरणले अहिले देशभरका मिटर रिडर्सलाई ४ समूहमा विभाजित गरेको छ । थाई, मासिक ज्यालादारी, दैनिक ज्यालादारी र गोटा गिन्ती कति वटा घरको मिटर रिड गरेको भन्ने तथ्यांकसहित भुक्तानी गर्ने गरी ४ समूहमा विभाजन गरेको छ ।
संघर्ष समितिका सचिव झाले आफूहरूले थाई कर्मचारीबाहेक अन्य सबै मिटर रिडर्सलाई समान व्यवहार गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको बताए । ‘थाई कर्मचारीविरुद्ध हाम्रो आन्दोलन हैन,’ झाले भने, ‘हाम्रो आन्दोलन दैनिक र मासिक ज्यालादरी र गोटा गिन्तीमा मिटर रिड गर्ने रिडर्सलाई समान व्यवहार र तलब हुनुपर्यो भनेर आन्दोलनमा उत्रिएका हौं ।’
प्राधिकरणले ज्यालादारी र मासिक ज्यालादारीका मिटर रिडर्सलाई बढी गोटा गिन्तीमा मिटर रिड गर्नेहरूको तुलनामा धेरै सेवा सुविधा दिँदै आएको छ । तर, गोटा गिन्टीमा मिटर रिड गर्नेहरूलाई प्रति मिटर रिड गरेवापत करिब ८ रुपैयाँ दिँदै आएको छ । यो असमानपूर्ण व्यवहार भएकाले स्थाई बाहेकका सबै रिडर्सलाई समान व्यवहार गर्नुपर्ने झाको भनाइ छ ।
हाल देशभर गोटा गिन्तीमा मिटर रिड गर्ने रिडर्सहरूको संख्या ६२२ छ । यी रिडर्सलाई समेत मासिक ज्यालादारीमा रिड गर्नेहरूको सूचीमा राख्नुपर्ने संघर्ष समितिको माग रहेको छ । हाल प्राधिकरणको केन्द्रीय कार्यालयमा भइरहेको आन्दोलनमा १०० भन्दा धेरै रिडर्सहरूको सहभागिता रहेको छ । अन्य रिडर्स फिल्डमा रहेको र उनीहरूको समेत ऐक्यबद्धता रहेको समितिका सचिव झाले बताए ।
यसबारे प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने आफूलाई जानकारी नभएको बताए ।
प्रतिक्रिया