१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

रुरुक्षेत्र गाउँपालिकाले थाल्यो मुख्य बजार क्षेत्रमा अनुगमन



टोपराम केसी, गुल्मी ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले मुख्य बजार क्षेत्रमा अनुगमन कार्य सुरु गरेको छ ।

गाउँपालिकाको रिडी बजार, बलेटक्सार र रानिबासस्थित बजार क्षेत्रमा बुधबार देखि अनुगमन थालिएको अनुगमनमा खटिनु भएका कम्प्युटर अप्रेटर दामोदर ज्ञवालीले बताए ।

रुरु क्षेत्र गाउँपालिका गुल्मीको आयोजना र खाद्य–प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय पाल्पाको उपस्थितमा अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष तथा बजार अनुगमन कार्यक्रमकी संयोजक मिनादेवी गौतमले बताइन् ।

अनुगमन कार्यक्रममा प्रायः गरी म्याद गुज्रिएका खाद्य सामग्री, पेय पदार्थ, जुस, सोयाबिन, सुजि लगायतका सामग्रीहरु टोलीले जफत गरेको थियो ।

अनुगमनमा दर्ता नै नगरी पसल सञ्चालन गरिएको, एकको नाममा अर्को व्यक्तिले पसल सञ्चालन गर्ने गरेको, बिना लेबल नै सामग्रीहरु बिक्रि वितरण हुने गरेको, होटलमा सरसफाइ नै नभएको, समयमा कर दाखिला नगरिएको, समयमा सम्वन्धित स्थानमा नवीकरण नगरिएको, मूल्य सूचि नै नराखी पसल सञ्चालन गर्ने गरेको पाइएकाले एक सातासम्म कमजोरीलाई सुधार गर्ने अवसर प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए ।

अध्यक्ष ज्ञवालीले ब्यापारी वर्गहरुलाई सार्बजनिक स्थान तथा नाली माथि पसल तथा फलफुल, तन्दुरी, भट्टी समेत सञ्चालन नगर्न सचेत गराएका थिए ।

यस्तै अनुगमन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौड्यालले हरेक पसलहरुलाई सल्लाह सुझाव प्रदान गर्दै सामान खरिद गर्दा अनिवार्य रुपमा बिल जारी गर्नु पर्ने, म्याद हेरेर मात्र सामान खरिद बिक्रि गर्नु पर्ने, स्वास्थ्यलाई असर पार्ने खालका खाद्यान्न तयार गरी बिक्रि नगर्न आग्रह गरे ।

टोलीमा खटिनु भएका खाद्य अनुसन्धान पाल्पाका अधिकृत नरेस श्रेष्ठले तयार गरी बजारमा बिक्रि गर्न राखिएका खाद्यमा रसायनिक केमिकल बढ्दो भएकाले यसलाई प्रयोग नगर्न र बिल तथा नापतौललाई ठिक तरिकाले सञ्चालन गर्न आग्रह गरे ।

अनुगमन कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, पत्रकार, उद्योग बाणिज्य संघका पदाधिकारीहरु, सुरक्षा निकाय, व्यापारी प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

टोलीले जफत गरेका सम्पुर्ण सामग्रीहरु बुधबार नै इलाका प्रहरी कार्यालय रिडीको परिसरमा नष्ट गरी सकेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९ बिहिबार ००:००  ७ : ५१ बजे