भैरहवा ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले “रात्रिकालीन होटल तथा मनोरन्जनात्मक व्यवसाय सञ्चालन सम्बन्धि मापदण्ड, २०७९” तयार गरेको छ । यस संगै भैरहवा, बुटवल तथा यस आसपासका क्षेत्रमा रात्रीकालीन ब्यवसायिको बाटो खुलेको छ ।
ब्यवसायीहरुको लामो समयको माग पछि रुपन्देहीमा रात्रिकालीन ब्यवसाय सञ्चालन गर्ने वातावरण तयार भएको हो । द्वन्द्वकाल सुरक्षाको कारण देखाउदै बन्द गरिएका रात्रिकालीन व्यवसाय लामो समय पछि सञ्चालनमा आउने भए पछि यस क्षेत्रका ब्यवसायीहरु उत्साहित देखिएका छन् । खरबौको लगानी रहेको भैरहवा तथा यस आसपासमा होटलहरुले आफ्ना पाहुनाहरुलाई सांझसाझै सुताउन बाध्य रहेका थिए । यो निर्णय संगै बजारमा चहलपहल बढ्ने आशा बढेको छ ।
मंगलबार देखि लागु हुने गरि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मापदण्डमा रहेर रात्रिकालीन व्यवसाय सञ्चालन गर्न सक्ने सूचना प्रकाशन गरेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले व्यवसायीहरुले अब रात्रीकालीन व्यवसाय सञ्चालनको लागि निवेदन दिन सक्ने जानकारी दिए । उनले मापदण्डले निर्दिष्ट गरेको सूचकहरुको आधारमा निवेदन दिएकालाई व्यवसाय सञ्चालनको अनुमति दिन सकिने बताए ।
तयार भएको मापदण्डमा जिल्लामा होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन गर्ने व्यवसायीले व्यवसायको प्रकृति अनुसार अधिकार प्राप्त निकायमा दर्ता गरि व्यवसाय सञ्चालन गरेको हुनु पर्ने पहिलो शर्त तोकेको छ । दर्ता भएका व्यवसाय रात्रीकालीन समयमा सञ्चालनको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देही संग अनुमति लिनु पर्नेछ । व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा रातीमा व्यवसाय सञ्चालनको लागि अनुमति मागे स्थलगत अनुगमन गरि रातीको समय तोकी सञ्चालन अनुमति दिन सक्ने ब्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।
तर यसरी रात्रीकालीन व्यवसाय सञ्चालन गर्दा सदाचार र नैतिकताको आधारभूत मूल्य मान्यता प्रतिकुल नहुने गरि सञ्चालन गर्नु पर्ने प्रशासनको शर्त रहेको छ । यसको लागि प्रशासनले डिस्को, डान्स रेष्टुरेन्ट एण्ड बार, लाईभ ब्याण्ड, पब, बार क्लब लगायतमा १८ बर्ष मूनिका बालबालिकाको प्रवेश निषेध लगाएको छ । यस्तै सेवाग्राहीले अनुरोध गरेमा व्यवसाय स्थलबाट घर सम्म पुर्याउन व्यवसायीले सस्शुल्क सवारी साधनको ब्यवस्था गर्ने लगायतका नियम रहेका छन् ।
रात्रीकालीन ब्यवसाय सञ्चालनको निर्णय सकारात्मक रहेको यहाका होटल व्यवसायीहरुले प्रतिक्रिया दिएका छन् । सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले यसले यस क्षेत्रको समग्र पर्यटकिय चहल पहल बढाउने बताए । “हाम्रो मूख्य बजार भनेको भारत हो, अब भारत लगायतका देशमा भैरहवामा राती पनि होटल सञ्चालन हुन्छ भन्ने सन्देश जानेछ ।” श्रेष्ठले भने “यसले लुम्बिनी आउने धार्मिक पर्यटक मात्र नभई, रमाईलो गर्न आउने अन्य पर्यटकलाई पनि आकर्षित गर्नेछ ।”
उनले यस क्षेत्रको प्रवद्र्धनको लागि अब निजि क्षेत्रले पनि सोही अनुसारको प्रचार प्रसार गर्न आवश्यक रहेको बताए । यो निर्णयले यो क्षेत्रमा रहेका ८९ वटा स्तरिय होटल, १ सय ५० बढी अन्य होटल तथा ६ वटै क्यासिनोलाई सहयोग पुग्ने उनको भनाई छ । भैरहवाको मूख्य पर्यटक भारतीयहरु रहेको र अहिले पनि सीमा १० बजे राती नै बन्द हुने गरेको कारण यसले केही अप्ठ्याराहरु पनि रहेको श्रेष्ठको भनाई छ ।
प्रतिक्रिया