१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

‘चुनाव पिच्छे दल फेर्दै आएका दान बहादुर चौधरी’



दीपा महत, कपिलवस्तु ।
जनता समाजवादी पार्टी (जसपा) विभाजनमा सक्रिय भूमिका खेलेका दान बहादुर चौधरी नेपाल समाजवादी पार्टी (नेसपा) गठन भएपछि केन्द्रीय उपाध्यक्ष थिए । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेसपाको दोस्रो वरियतामा पुगेका चौधरी एक हप्ता नवित्दै एमाले प्रवेश गरे ।

नेसपाको उपाध्यक्षमा बधाई खादा खादै एमाले छिरेका चौधरीको राजनीतिक पृष्ठभूमि चुनावै पिच्छे दल फेर्ने नेतामा अग्रस्थानमा छ।

कपिलवस्तु घर भएका चौधरी ०५६ सालको चुनावमा तत्कालिन नेकपा (एमाले) बाट संघीय सांसद बनेका थिए । निकै कष्टपूर्ण तरिकाबाट त्यो बेला एमालेले जिल्लामा चुनाव जितेको थियो । जिल्लामा कम्युनिष्ट पार्टीबाट चुनाव जित्ने चौधरी पहिलो नेता पनि थिए ।

उत्तर-दक्षिण क्षेत्र रहेको त्यो बेला कांग्रेस, राप्रपा जस्ता जिल्लामा दबदबा भएका दलहरुलाई पराजित गरी चौधरीले एमालेबाट चुनाव जितेका थिए ।

इतिहासमा पहिलो पटक संघीय सांसद जितेको एमालेमा खुसीको सीमा थिएन् । यो खुसी ०६४ साल नआउँदै चौधरीको एमाले परित्यागले निरासामा परिणत गर्‍यो ।

०६३/०६४ मा तराई मधेसमा मधेस आन्दोलन तीव्र बनेको थियो । मधेस केन्द्रीत नेताहरु क्षेत्रियता पार्टी गठन गरी मधेसी जनताको हितमा भन्दै आन्दोलन चर्काएका थिए ।

त्यहीँ आन्दोलनको रापमा चौधरी तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) छिरे । आउदै गरेको ०६४ को पहिलो संविधानसभाको चुनावमा मधेस केन्द्रीत दलबाट चुनाव नउठ्ने हो भने सांसद बन्न नसकिने निष्कर्षसहित चौधरी एमाले परित्याग गरी तमलोपा छिरेका थिए ।

विचार, सिद्धान्त र मूल्यमान्यतालाई तिलाञ्जलि दिएर एमाले छाडि क्षेत्रियतावादी दल छिरेका चौधरी ०६४ मा तमलोपाबाट सभासद् जिते ।

तराई मधेसको रुझानमा सभासद् भएका चौधरी ०७० सम्म तमलोपामा पनि टिक्न सकेनन् । व्यक्तिगत स्वार्थ, मन्त्री पद पाउँनै पर्ने उत्कट चाहनाले मधेस केन्द्रीत दलमा फुटको रेखा कोरिन थाल्यो । चौधरी पनि तमलोपा छाडी फोरम लोकतान्त्रिकमा प्रवेश गरे ।

०७० को दोस्रो संविधानसभाको निर्वाचनमा चौधरी यही दलबाट सभासद् उठे । चुनावको मुखैमा दल त्यागेका चौधरीलाई जनताले पत्याएनन्, चुनाव हारे ।

०७० को चुनाव हारेपछि ०७२ मा संविधान जारी भयो । संविधान जारी भए लगत्तै तत्कालिन एनेकपा (माओवादी) का उपाध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी परित्याग गरे । माओवादी त्यागे लगत्तै नयाँ शक्ति नेपाल बनाउने गृहकार्यमा भट्टराई लागे । यही शिलशिलामा चौधरी पनि बाबुरामको पार्टीमा समाहित भएको घोषणा गरेका थिए । तौलिहवामा पत्रकार सम्मेलन गरी चौधरीले फोरम लोकतान्त्रिक परित्याग गरेको घोषणा गरेका थिए ।

नयाँ शक्तिमा डा. भट्टराईसंगै रहेका चौधरी ०७४ को निर्वाचनमा चुनावमा उठे । चौधरीले लज्जास्पद हार व्यहोरे । हरेक चुनावमा दल फेर्दै, चुनाव लड्दै गरेका चौधरी नयाँ शक्ति पार्टी र संघीय समाजवादी पार्टीको एकता पछि बनेको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी बीच एकता भएपछि बनेको जनता समाजवादी पार्टीमा सक्रिय थिए ।

आसन्न मंसीर ४ को निर्वाचनको मिति घोषणा भए लगत्तै जसपामा फुट देखा पर्‍यो । यही फुटको असरले चौधरी डा. भट्टराईले नेतृत्व गरेको नेसपाको उपाध्यक्ष थिए । यो दल परित्याग गरी चौधरी हालै मात्र एमालेमा प्रवेश गरेका हुन् ।

चुनावको मुखैमा दल परिवर्तन गर्ने चौधरीको आसन्न राजनीति यात्रा कसरी अगाडी बढ्छ हेर्न बाँकी नै छ । एमाले प्रवेश गर्दा उनले संघीय सांसदको इच्छा राखेको स्रोत बताउँछ । सोही अनुरुप उनको नाम प्रतिनिधिसभा १ बाट सिफारिस भएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९ बुधबार ००:००  ८ : ४६ बजे