भैरहवा ।
उद्योग व्यापार संगठन रुपन्देहीले आगलागी तथा चोरी भएका व्यवसायिक प्रतिष्ठानलाई आर्थिक सहयोग गरेको छ । संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीको नेतृत्वको टोली मंगलबार दुईवटा व्यवसायिक प्रतिष्ठानमा पुगेर रकम हस्तान्तरण गरेको हो । आगलागी, चोरी जस्ता घटना भएका व्यवसायिक प्रतिष्ठानलाई राहत वापतको रकम संगठनले उपलब्ध गराउँदै आएको ज्ञवालीले जानकारी दिए । उनले भने, ‘संगठनमा आबद्ध उद्योगी व्यवसायीको औद्योगिक व्यापारिक प्रतिष्ठानमा समस्या भएको अवस्थामा केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गर्दै आएका छौं, त्यहीअनुसार दुईवटा व्यापारिक प्रतिष्ठानमा पुगेर रकम हस्तान्तरण गरेका हौं ।’
गत चैत २७ गते आगलागी भएको सिद्धार्थनगर नगरपालिका–५ स्थित हरि उँ फूल घर एवं डेकोरेटर्स तथा गत वर्षको असोजमा चोरी भएको ओमसतिया गाउँपालिका–४ बसन्तपुरस्थित अंकृता सप्लायर्सका सञ्चालकलाई संगठनले रकम हस्तान्तरण गरेको महासचिव सचिन रोक्काले बताए । हरि उँ फूल घर एवं डेकोरेटर्सका सञ्चालक तेजबहादुर सहानी र अंकृता सप्लायर्सका सञ्चालक राजेश प्रसाद हरिजनलाई रकम हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
सहयोग रकम हस्तान्तरण गर्न संगठनका अध्यक्ष ज्ञवालीसहित उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मी, महासचिव सचिन रोक्का, कोषाध्यक्ष राम मिलन यादव व्यवसायिक प्रतिष्ठानमा पुगेका थिए ।
प्रतिक्रिया