१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सावर्जनिक जग्गा संरक्षणमा खोजीपुर सामुदायिक वन



मायादेवी अनलाइन, बाणगंगा ।
सामुदायिक वनले गरेको उदाहरणीय काम हेर्न कपिलवस्तुको खोजिपुर सामुदायिक वनमा गए पुग्छ । जिल्लाको भलवाडमा रहेको खोजिपुर सामुदायिक वनले निरन्तर गरेको समुदाय लक्षित कामले त्यसको उदाहरण मिलेको हो ।

सामुदायिक वनले केवल बन जंगलको मात्र संरक्षण गर्दैनन् भन्ने उदाहरण खोजिपुरले दिएको छ ।

०६६ सालमा स्थापना भएको यो वनले बिकास निर्माणसंगै समुदायको बिकासमा पनि महत्वपूर्ण भूमिका खेलेको छ ।

सार्वजनिक जग्गाको संरक्षण यो वनको अर्को महत्वपूर्ण काम हो ।

खोजिपुरले सिंगो भलवाडमा आवश्यकता रहेको बहुउद्देश्यीय सभाहल निर्माण गरिरहेको छ । भलवाडको मुख्य बजार क्षेत्रमा रहेको जिनुवा नजिकै उक्त सभाहल निर्माण भइरहेको हो ।

झन्डै एक करोडको लागतमा बन्न लागेको यो सभाहल आगामी बर्ष सकाउने लक्ष्य छ । खोजिपुरले थालेको यो अभियानलाई बाणगंगा नगरपालिकाले पनि आर्थिक सहयोग गरेको छ ।

नगरको वडा नम्बर ९ भलवाड भित्र कुनै पनि सभाहल नहुँदा कार्यक्रम गर्न कठीन हुने गरेको छ । सार्वजनिक कार्यक्रम गर्नका लागि यस वडाका सर्वसाधारण कि त बनगाई कि गोरुसिंगे जानू पर्ने बाध्यता छ ।

साना-साना कार्यक्रमका लागि पनि विद्यालयका कक्षा कोठा र खुला आकाशमा रहेका चौपारी खोज्नु पर्ने बाध्यता यहाँ छ । यसको समस्या समाधानका लागि खोजिपुरले बहुउद्देश्यीय सभाहलको परिकल्पना गरि काम थालेको वनका अध्यक्ष दिपक थापाले जानकारी दिए ।

बहुउद्देश्यीय सभाहल बन्दै गरेको स्थान पनि खोलाले खादै गरेको भूमि हो । ०४६ सालमा कोइली खोलामा आएको बाढी बस्तीमा पस्दा त्यसले थुप्रै जमीन कटान गरेको थियो । त्यहीँ जमीनको संरक्षण गर्दै खोजिपुरले यहीँ भू-भागमा बहुउद्देश्यीय सभाहल बनाउन लागेको हो । खोलाले कटान गरेको अझै पाँच कठ्ठा जग्गा संरक्षण गरेर सभा हल बनाउन लागेको अध्यक्ष थापाले बताए ।

सभाहलमा अहिलेसम्म ५२ लाख ५० हजार लागत लागिसकेको छ । सभाहल बनाउन माटो फिलिङ, १४ इन्च गारोसहितको वाल निर्माण, झ्याल उठाउने काम सकिएको छ भने एक तलामा ढलाई गरिसकिएको छ । यसै आव भित्र जसरी पनि काम सक्ने लक्ष्यमा अध्यक्ष थापा रहेका छन् ।

यतिमात्र होइन सभाहलसंगै खोजिपुरका अध्यक्ष थापा कै सक्रियतामा भलवाडमा काष्ठ उद्योग सन्चालनमा आएको छ । सामुदायिक वनबाट आम उपभोक्ताले पाउने काठ चिरानको समस्या झेल्दै आए पछि भलवाडमा काष्ठ उद्योग सन्चालनमा ल्याइएको छ ।

यसले उपभोक्तालाई सहज बनाएको छ भने यहाँबाट अन्यत्र खर्च गर्नुपर्ने रकमको जोहो भएको छ ।

खोजीपुरका अध्यक्ष थापाकै सक्रियतामा यो स–मिल संचालनमा आएको सामुदायिक वनका सदस्य लेखनाथ पौडेल बताउँछन ।

खोजिपुरले घाटगद्धी ब्यवस्थापन पनि लोभलाग्दो बनाएको छ । वरपरबाट तारजालीको प्रयोग गरि बनाएको घाटगद्दीमा फलफूलका बिरुवा रोपिएको छ । आँप, लिची, अम्बा लगायतका बिरुवा यहाँ छन् । कतिपय फलफूलले उत्पादन पनि दिन थालेको वनका कोषाध्यक्ष दामोदर भुसालले बताए ।

सडक पक्की, कोइली खोला तटबन्ध, खेल मैदान ब्यवस्थापन, पानी सिन्चितका लागि पोखरी निर्माण लगायतमा पनि पनि खोजिपुरले लगानी लगाएको कोषाध्यक्ष भुसाल बताउँछन् ।

आम उपभोक्ताको चाहना र गाउँको आवश्यकता अनुसार वनले लगानी लगाएको अध्यक्ष थापाको भनाई छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९ मंगलबार ००:००  ११ : ३४ बजे