१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

युवा संघको महाकाली-मेची अभियानको टोली कपिलवस्तुमा, चन्द्रौटा र चारनम्बरमा सभा



मायादेवी अनलाइन, बाणगंगा ।
युवा संघ नेपालको केन्द्रीय कमिटीले सञ्चालन गरेको महाकाली-मेची युवा जागरण अभियानलाई कपिलवस्तुमा भव्य स्वागत गरिएको छ ।

नेकपा (एकीकृत समाजवादी) निकट युवा संघको महाकाली-मेची अभियान टोलीलाई जिल्लाको शिवपुरमा भव्य स्वागत गरिएको हो ।

खर्चिला उम्मेद्वार बहिस्कार गर्ने देखि श्रमिकलाई सम्मान र श्रम प्रति गर्व गरौं लगायतका आफ्ना विचार, दृष्टिकोण र धारणा बाड्दै हिडेको टोलीलाई युवा संघ नेपाल कपिलवस्तु र एकीकृत समाजवादी जिल्ला कमिटीले जिल्लामा स्वागत गरेको पार्टी प्रचार विभागले जनाएको छ ।

महाकाली-मेची अभियान टोलीले चन्द्रौटामा जनवादी गीतमा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेको थियो भने विभिन्न तहका नेताहरुले मन्तव्य दिएका थिए ।

अभियानद्धारा चन्द्रौटामा आयोजित कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका जिल्ला अध्यक्ष लंका बहादुर हमालले देशमा बढ्दो व्यथितिको विरुद्ध युवा संघले चलाएको अभियानको प्रशंसा गर्नुभयो । युवा जागरुक नहुँदासम्म कुनै पनि देश बन्न नसक्ने भन्दै अब युवाहरुले देशको शासनसत्ता हातमा लिनुपर्ने बेला आएको बताउनुभयो । बैचारिक युवाले मात्र देश रुपान्तरण गर्न सक्ने भन्दै पार्टी निकट युवा संघले यसको लागि यस्तै युवा जागरण सञ्चालन गर्नुपर्नेमा अध्यक्ष हमालको जोड थियो ।

युवा संघका केन्द्रीय सचिव शुसील भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा युवा संघका नेताहरुले अभियानबारे जानकारी गराएका थिए ।

उक्त टोलीले जिल्लाको वाणगंगा चारनम्बरमा पनि कार्यक्रम गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर खत्रीले आसन्न चुनावमा विचार भएकालाई जिताउन आग्रह गर्नुभयो । चुनाव निकै खर्चिलो हुने गरेको भन्दै पैसाले चुनाव जित्नेका विरुद्ध युवाहरु लाग्नुपर्ने बेला आएको बताउनुभयो । साथै बढ्दो चुनावी विकृतिका विरुद्ध युवा संघले चलाएको अभियान राम्रो भएको उहाँले सुनाउनुभयो ।

सोही अवसरमा बोल्दै अनेरास्ववियूका स्थायी कमिटी सदस्य दीपक अनुरागीले युवा संघ नेपाल बैचारिक संगठन रहेको पुष्टि यसले गरेको कामले देखाएको बताउनुभयो । कुनै बेला युवा संघ धन र डनको मात्र संगठन हो भन्ने बुझाइ समाजमा रहेको भन्दै एकीकृत समाजवादीको काँधमा युवा संघको नेतृत्व आए पछि त्यो आरोप चिरिएको बताउनुभयो ।

बाणगंगामा सभा सकेर टोलीलाई रुपन्देही पठाइएको युवा संघ नेपाल कपिलवस्तुले जनाएको छ ।

टोली आइतबार दाङमा सभा सकेर कपिलवस्तु, रुपन्देही हुँदै नवलपरासी जाने कार्यक्रम छ । भाद्र १५ देखि सुरु भएको महाकाली-मेची अभियान भाद्र २३ गते झापा पुगेर सकाउने युवा संघको लक्ष्य छ ।

टोलीमा संघका इन्चार्ज दिलु पन्त, अध्यक्ष नरेश शाही लगायत सांस्कृतिक टोलीसहित ५० जनाको सहभागीता छ भने, प्रत्येक जिल्ला जिल्लामा हजारौंको संख्यामा उपस्थिति रहने गरेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७९ आइतबार ००:००  ५ : ४८ बजे